मासिक २५ हजार किस्ता तिर्दा चढ्न सकिने आधा दर्जन कार

काठमाडौं । मासिक २५ हजार किस्ता तिर्नेगरी विद्युतीय कार किन्न पाइन्छ कि पाईदैन भनेर धेरैले प्रश्न गर्ने गरेका छन् । यसको सजिलो उत्तर पाइन्छ भन्ने होइन ।

नेपाल राष्ट्र बैंकले विद्युतीय कारमा २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्ने ब्यवस्था गरेको छ । त्यसैले ईभी किन्नेहरु २० प्रतिशत रकम जोहो गर्दा पुग्छ भन्ने मान्यतामा देखिन्छन् । थाेरै डाउन पेमेन्ट गरेपछि मासिक किस्ता धेरै नै हुन्छ । यदि, पेट्रोल कार किन्दा जस्तै ५० प्रतिशत हाराहारी डाउन पेमेन्ट बुझाएर किन्ने हो भने मासिक २५ हजार रुपैयाँमा बजारमा चल्तीका साना विद्युतीय कारहरु खरिद गर्न सकिन्छ ।

गाडी किन्दा ५० प्रतिशत डाउन पेमेन्ट गरेको खण्डमा ३२ लाख रुपैयाँसम्म पर्ने कार सजिलै २५ हजार मासिक किस्तामा खरिद गर्न सकिन्छ । ५० प्रतिशत डाउन पेमेन्ट गरेर गाडी खरिद गर्दा ब्याज वापत तिर्नु पर्ने रकम पनि कम हुनेछ ।

अहिले ३२ लाख रुपैयाँसम्मको कार खोज्नेलाई टाटा, नामी, एमजी, केई, विलिङ जस्ता ब्राण्डले आफ्ना विभिन्न मोडल उपलब्ध गराउँदै आएका छन् ।

कुन-कुन मोडलको मूल्य ३२ लाखभन्दा कम ?

अहिले बजारमा किन्न पाइने सबैभन्दा कम मूल्यको कार एमजी कोमेट हो । यसको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको टप भेरियन्ट किन्न २१ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

अर्को कम मूल्यको विद्युतीय कार विलिङ एयर ईभी पनि हो । यसको मूल्य पनि २१ लाख ९९ हजार रुपैयाँ छ । त्यसैगरी केई इ-क्यूटको सुरुवाती मूल्य १९ लाख ९६ हजारदेखि २४ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको छ । बीएडब्लू मोटर्सको ब्रम्बी कारको मूल्य २१ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

टाटा मोटर्सले बिक्री गर्दै आएको टिगोर र टियागो पनि कम मूल्यमा उपलब्ध कार हो । टियागो ईभीको सुरुवाती मूल्य २७ लाख ९९ हजारदेखि २९ लाख ९९ हजारसम्म तोकिएको छ । टाटाकै टिगोर सेडान पनि ३२ लाख रुपैयाँ भन्दा कम मूल्यमा किन्न पाइने कार हो । यसको मूल्य यसको मूल्य पनि २९ लाख ९९ हजारबाट सुरु हुन्छ ।

विलिङ विङ्गो पनि ३० लाखभन्दा कम मूल्यमा किन्न पाइने कार हो । कम्पनीले ३१ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु गरेको विलिङ विङ्गो अहिले २९ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

यही मूल्यको आसपास रहेको नामी बक्स ईभी अहिलेको निकै चर्चा पाउन सफल मोडल हो । यसको सुरुवाती मूल्य ३० लाख २४ हजारदेखि रहेको छ ।


Back_to_top