काठमाडौं । नेपाली बजारमा बिक्री हुँदै आएका दुई एसयूभीलाई यूरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त भएको छ । युरोपियन क्रयास टेष्टमा दीपल एस-०७ र लीप मोटरको सी-१० ले फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो ।
यी दुबै एसयूभी केही महिना अगाडि मात्रै युरोपियन बजारमा प्रबेश गरेका हुन् । आफ्नो साइज, मूल्य र फिचरको कारण लीप मोटर्सको सी-१० एसयूभी अहिले युरोपमा चर्चित बन्दै गएको छ । दीपल एस-०७ एसयूभी भने आफ्नो फ्यूचस्टिक डिजाइन र आधुनिक फिचरको कारण चर्चामा रहेको एसयूभी हो ।
नेपाली बजारमा पनि यी दुबै एसयूभी राम्रो मानिन्छन् । दीपल एस-०७ नेपालमा ठूलो संख्यामा बिक्री भइसकेको मोडल हो । सी-१० एसयूभी ग्राहकलाई दिन थालेको एक महिना पनि पुरा भएको छैन । छोटो अवधिमा नै सी-१० ले ग्राहक आकर्षित गर्न सफल भएको छ ।
दीपलले कारको लागि पावर हाउस भनेर चिनिने जर्मनीबाट युरोपियन बजारमा प्रबेश गरेको हो । जबकी लीप मोटरले युरोपियन जाइन्ट स्टेलान्टीस ग्रुपसँगको सहकार्यपछि युरोपमा बिक्री सुरु गरेको हो ।
लीप मोटरको सी-१० एसयूभीले एडल्ट प्यासेन्जर सुरक्षामा ८९ प्रतिशत अंक हासिल गर्दा चाइल्ड प्यासेन्जर सुरक्षामा ८५ प्रतिशत र सडक प्रयोगकर्ता (पैदल यात्रु)को सुरक्षामा ७७ प्रतिशत अंक पाएको थियो । सेफ्टी एसिस्टेन्समा ७६ प्रतिशत अंक पाउन सफल एसयूभीले समग्रमा क्रयास टेष्ट रिपोर्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो ।
अर्को चर्चित एसयूभी दीपल एस-०७ ले झनै राम्रो अंक पाउन सफल भएको देखिन्छ । युरो एनक्यापका अनुसार एस-०७ ले एडल्ट यात्रुको सुरक्षामा ९५ प्रतिशत अंक पाउँदा चाइल्ड यात्रु सुरक्षामा ८७ प्रतिशत, पैदल यात्रुको सुरक्षामा ७४ प्रतिशत र सेफ्टी एसिस्टेन्समा ७७ प्रतिशत अंक पाएका छन् ।
यी दुबै कारमा एडास फिचर उपलब्ध छ । साथै इबीडी सहितको एबीएस, एयरब्याग, लेनकीप एसिस्ट, सेफ्टी सेन्स फिचरहरु छन् । जसको सहायतामा यी दुबै एसयूभीले फाइभ स्टार रेटिङ पाउन सफल भएका हुन् ।