रेन्ज रोभरको इलेक्ट्रीक एसयूभी मरूभूमिमा परीक्षण हुँदै

काठमाडौं । वेलायती अटोमोबाइल ब्राण्ड ल्याण्ड रोभरले इलेक्ट्रीक रेन्ज रोभरको परीक्षण गरिरहेको तस्वीरहरू सार्वजनिक भएका छन् । आगामी वर्ष विश्व बजारमा आउने नयाँ इलेक्ट्रीक रेन्ज रोभरको प्रोटोटाइप अहिले मरूभूमिमा परीक्षण भइरहेको हो ।

युनाइटेड अरब इमिरेट्सको मरुभूमिमा परीक्षण भएको तस्वीरहरू सामाजिक संजालमा उपलब्ध भएका छन् । रेन्ज रोभरलाई विश्वभर सबैभन्दा आरमदायी र जस्तोसुकै अफरोडमा पनि उत्कृष्ट पर्फर्मेन्स गर्ने एसयूभीको रूपमा चिनिन्छ ।

सायद यही कारण होला कम्पनीले यसको पहिलो टेष्ट नै दुबईको मरूभूमिमा गरिरहेको छ । यही परीक्षणबाट रेन्ज रोभरको इलेक्ट्रीक एसयूभी पनि पूर्ण अफरोड क्षमता र आरामदायी हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

परीक्षणको क्रममा देखिएको रेन्ज रोभरको फोटो अनुसार यो एसयूभी फोर ह्वील ड्राइभ क्यापेवल रहेको छ । कम्पनीले उक्त एसयूभीमा फ्रन्ट र रियरमा मात्रै मोटर नदिएर चारवटै चक्कामा छुट्टा छुट्टै मोटर दिएको अनुमान गरिएको छ । बाहिरी आवरण हेर्दा आइस रेन्ज रोभर जस्तै देखिने ईभीको वास्तविक डिजाइन पक्कै पनि फरक हुनेछ ।

कम्पनीले इन्टेलीजेन्ट टर्क मेनेजमेन्ट सिस्टम दिएर यसलाई ल्याउने जनाएको छ । यसको सहयोगले ‘इन्डीभीजुअल इलेक्ट्रीक ड्राइभ कन्ट्रोल युनिट’ले ह्वील स्लीप मेनेजमेन्टको काम १०० मिलिसेकेण्ड भित्रै गर्नेछ । यसमा रहने ब्याट्रीको साइज र मोटर पावरका बारेमा कुनै जानकारी बाहिर आएको छैन ।


Back_to_top