के बन्द हुँदैछ हिरो इलेक्ट्रीक ? अहिलेसम्म बन्द भए यी कुरा

काठमाडौं । सुरुमा इलेक्ट्रीक स्कुटर उत्पादन थाल्ने भारतीय ब्रान्ड मध्यको एक ब्रान्ड हिरो इलेक्ट्रीक बन्द हुने अवस्थामा पुगेको छ । लामो समयदेखि समस्याग्रस्त बनेको हिरो इलेक्ट्रीकले आफ्नो वेसाइट समेत बन्द गरेको हो ।

डिलर नेटवर्कसँगको विवाद र फेम टू सब्सीडीको दुरुपयोगको आरोप लागेसँगै कम्पनीमा समस्या उत्पन्न भएको विभिन्न रिपोर्टहरुले औल्याएका छन् ।

हिरो इलेक्ट्रीकको वेवसाइट www.heroelectric.in करिब दुईहप्ता देखि बन्दको अवस्थामा रहेको छ । उक्त वेवसाइट सर्च गर्दा हाल ‘५०३ सेवा अस्थायी रुपमा अनुपलब्ध’ त्रुटीको सन्देश देखाउँछ ।

कम्पनीको वेवसाइटमा यस्तो सन्देश केही समय आउनु सामान्य मानिन्छ तर लामो समयसम्म वेवसाइट बन्द हुनु तथा कम्पनीको एक्स (ट्वीटर) एकाउन्टसमेत जुन २०२४ देखि अपडेट नहुनुले कम्पनीमा जटिल समस्या उत्पन्न भएको मान्न सकिन्छ ।

कम्पनीले २०२२ मा १ लाख १२३ यूनिट स्कुटर बिक्री गरेको थियो । हिरोले ३ वर्षमा ५० लाख दुईपाँग्रे ईभी बनाउने महत्वाकाक्षीं योजना समेत बनाएको थियो । जसका लागि कम्पनीले राजस्थानमा १७० एकड जमिनमा नयाँ प्लान्ट लगाउने तयारी थालेको थियो । चार्जिङ नेटवर्क विस्तारको काम समेत गरेको थियो ।

कम्पनीले राम्रो तयारी गरिरहेको अवस्थामा फेम टू सब्सीडी दुरुपयोग गरेको आरोप हिरो लगायत अन्य भारतीय इलेक्ट्रीक स्कुटर निर्माताहरुलाई लागेको थियो । अन्य कम्पनीहरुले फेम टू सब्सीडीमा पाएको अनुदान फिर्ता गरेका थिए भने हिरोले उल्टै सरकारलाई ५५६ करोड रुपैयाँ पाउनु पर्ने भन्दै मुद्दा दर्ता गरेको थियो ।

सन् २०२४ को सुरुवातमै हिरो विरुद्ध डिलरहरुले ५०० करोड रुपैयाँ भुक्तानी पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए । कम्पनीले २०२४ को अन्त्यसम्ममा भुक्तानी गर्ने बताए पनि अहिलेसम्म नपाएको डिलरहरुले बताएका छन् ।

पछिल्लो घटना क्रममा अनुसन्धान गरिरहेको ‘गम्भिर ठगी अनुसन्धान कार्यालय’ले हिरो, ओकीनवा र बेन्लिङ इन्डियामा रेड हानेको थियो । अहिले बेन्लिङ इन्डियाको वेसाइट पनि सस्पेन्ड देखाएको छ ।


Back_to_top