काठमाडौं । अटोमोवाइल बजारमा एकपछि अर्को नयाँ विद्युतीय कार मोडल उपलब्ध हुँदै आएका छन् । सन् २०२३ पछि नयाँ नयाँ मोडल आउने क्रम तिब्र बन्दै गएको छ ।
बजारमा आउने नयाँ गाडी पहिलोभन्दा एड्भान्स र फिचर लोडेड भएर आइरहेका छन् । त्यसैले यदि, तपाई इलेक्ट्रीक कार किन्ने योजनामा हुनुहुन्छ भने केही महिना कुर्दा उत्कृष्ट डिल पाउन सक्ने अवस्था छ ।
विद्युतीय कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा तिब्र गतिमा घटिरहेको छ । तर, नेपालमा भने मूल्य स्थीर रहने वा बढाउने गरिन्छ । ईभीको मूल्य र फिचरको संयोजनको लागि नयाँ प्रोडक्ट आउँदै छ भने कुर्न सकिने अवस्था छ ।
सन् २०२५ को पहिलो क्वाटरमा नै ६ नयाँ मोडल नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ । यी नयाँ उत्पादन हरेक दृष्टिकोणबाट अहिले बजारमा रहेका उत्पादनसँग प्रतिस्पर्धाको लागि तयार देखिन्छन् । त्यसैले नेपाली बजारमा चार महिना भित्र उपलब्ध हुने एसयूभीको बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
१. जीएसी एवोन भी
चिनियाँ ब्राण्ड जीएसीले एवोन भी मोडल यहि डिसेम्बर अन्तिमसम्ममा नेपाल ल्याउँदैछ । आधिकारीक बिक्रेता सिजी मोटर्सले एवोन भी मोडललाई ६२ र ७५ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सनमा ल्याउने भएको हो । कम्पनीका अनुसार नयाँ एसयूभीको टप भेरियन्टले रियर वर्ल्ड रेन्ज ५३० किलोमिटरसम्म दिने जनाएको छ ।
एवोन–भीलाई कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको भएपनि ६० प्रतिशत चार्जिङ टाइम कटौती गर्न सक्षम भएको दावी कम्पनीको छ । सम्भवत एवोन भी १०० किलोवाटको मोटरमा उपलब्ध हुनेछ ।
२. एमजी एस-५
ब्रिटीस ब्राण्ड मोरिस ग्यारेज (एमजी)को स्वामित्व चिनियाँ एसएआईसी ग्रुपसँग छ । एसएआईसीले लिएसँगै आक्रमक बजार बिस्तारमा लागेको एमजी एस-५ इलेक्ट्रीक एसयूभीबाट निकै आशावादी देखिन्छ । नेपालमा एमजीले बिक्री गर्दै आएको जेडएस ईभीको सफलतालाई यसले थप उचाईमा लाने विश्वास आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले राखेको छ ।
चीनमा सार्वजनिक भएदेखिनै निकै चर्चामा रहेको एस-५ मोडल एमजी-४ मा आधारित क्रसओभर एसयूभी हो । स्लीक डिजाइनमा बनेको एमजी एस-५ मा ४९.१ र ६२.२ किलोवाट आवरको दुई ब्याट्री छ । यसमा प्रयोग भएको लिथियम आइरन फस्फेट ब्याट्री हो । उक्त ब्याट्रीले ४२५ र ५२५ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले जनाएको छ । सीएटीएल र एसएआईसीको जोयन्ट भेन्चरले बनाएको यो ब्याट्री विश्वको सबैभन्दा पातलो ब्याट्री पनि हो ।
रियर ह्वील ड्राइभ मोटरमा आउने एस–५ मोडल नेपालमा १०० किलोवाटको मोटरमा उपलब्ध हुनेछ । यसको पीकटर्क २५० न्यूटन मिटर हुनेछ ।
३. हुन्डाई क्रेटा ईभी
जनवरी दोस्रो साता भारतमा लन्च हुने हुन्डाई क्रेटा ईभी नेपाली बजारमा फेब्रुअरीबाट बिक्री सुरु हुने अनुमान गरिएको छ । यसमा दिइएका फिचरहरुको विषयमा धेरै कुरा बाहिर आएको छैन । तर, पेट्रोल क्रेटाको सफलबाट ईभीमा पनि केही प्रभाव पर्ने अनुमान भने गर्न सकिन्छ ।
हुन्डाईले क्रेटा एसयूभीमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ४५ किलोवाट आवर क्षमताको ब्याट्री दिएर बजारमा ल्याउने रिपोर्टहरु बाहिर आएका छन् ।
४. दीपल एस-०५
दीपलको एस-०५ मा ५६.१२ किलोवाट अवारको एलएफपी ब्याट्री रहेको छ । यो ब्याट्रीले एकपटकको फुलचार्जमा ५१० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले दावी गरेको छ ।
चीनमा १७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध एस-०५ नेपाली बजारमा कुन साइजको मोटरमा आउँछ भन्ने एकिन भएको छैन । आगामी मार्चबाट बजारमा बिक्री गर्ने योजनासहित एमएडब्लू वृद्धिले दीपल एस-०५ नेपाल ल्याउन लागेको हो ।
थ्रीसी फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्री यसमा पाउन सकिन्छ । त्यसैले १५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिने कम्पनीको दावी छ ।
५. महिन्द्रा बीई ६ई
आगामी मार्चबाट भारतमा बिक्री सुरु हुने बीई-६ई नेपाली बजारमा अग्नी इनकर्पोरेट प्रालिले बिक्री गर्नेछ । भारतमा निकै चर्चा कमाइरहेको बीई-६ईमा लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ । ब्लेड टेक्नोलोजीमा आधारित ५९ किलोवाट आवरको ब्याट्रीसँग १७० किलोवाटको मोटर छ ।
त्यस्तै, बीई-६ईको लङ रेन्ज भर्सन पनि आउने छ । लङ रेन्ज भर्सनमा ७९ किलोवाट आवरको ब्याट्रीसँग २१० किलोवाटको मोटर रहेको छ । दुबै भर्सनले टर्क भने समान ३८० एनएम प्रदान गर्छ ।
लङ रेन्ज भर्सनले ५५० किमी डब्लूएलटीपी रेन्ज दिने बताइएको छ । महिन्द्राले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्नेगरी यसलाई बजारमा ल्याएको हो ।
६. सुजुकी ई-भिटारा
अहिलेसम्म बजारमा एउटा पनि ईभी मोडल उपलब्ध नगराएको सुजुकीको पहिलो एसयूभी आगामी मार्चबाट बजारमा आउँदैछ । कम्पनीले नयाँ मोडलको नाम ई–भिटारा राखेर बिक्री सुरु गर्न लागेको हो ।
सुजुकीले ल्याउने ई–भिटारामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सन रहने छ । कम्पनीले यसलाई १०६ किलोवाट र १२८ किलोवाट क्षमताको दुई फरक मोटर दिनेछ । सिजी मोटोकर्पले नेपाल कुन साइजको मोटर र ब्याट्रीमा ई-भिटारा ल्याउँछ अहिल्यै जानकारी प्राप्त भएको छैन । ई–भिटाराको स्टायण्डर्ड रेन्ज ३५० देखि ४५० किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।