उपत्यकाबाट बाहिरिने नाकामा धमाधम बन्दैछ अण्डरपास, ६०% सकियो काम

काठमाडौं । काठमाडौं उपत्यका भित्रिने/बाहिरिने प्रमुख पूर्वीनाका साँगामा अण्डरपास निर्माणले तीव्रता पाएको छ । अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत झक्तपुर र काभ्रपलाञ्चोकको सीमाना साँगामा अण्डरपास निर्माण भइरहेका हो ।

हाल सूर्यविनायक-धुलिखेल सडक चार लेनमा निर्माण स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले छुट्टाछुट्टै (तलमाथि) दुई/दुई लेनको सडक निर्माण हुँदैछ । त्यसमा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनका लागि बाँयातर्फ दुई लेनको (एकतर्फी) अण्डरपास निर्माण गरिएको हो ।

सूर्यविनायक-धुलिखेल सडक आयोजना प्रमुख विजयकुमार महतोले साँगामा भक्तपुरबाट बाहिरने सवारीलाई धेरै उकालो पर्ने भएकाले सहजताका लागि अण्डरपास निर्माण गरिएको बताए ।

उनका अनुसार अण्डरपासको कुल लम्बाइ १११० मिटर लामो छ । जसमा २० मिटरको पुल, बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक रहेको छ । त्यस्तै, अण्डरपासको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।

हालसम्म अण्डरपास निर्माण करिब ६० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । उनले अण्डरपासको पुलकाे स्ल्याब ढलानको काम सम्पन्न भइसकेको बताए । अब अण्डरपास भित्रको माटो झिक्ने र भुइँ ढलानको काम मात्रै बाँकी रहेको उनले बताए ।

‘साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिँदा लामो उकालो पर्छ । त्यसैले सवारी साधनको सहता र साँगाचोकमा निर्वाध आवतजावत लागि अण्डरपास निर्माण गरिएको हो,’ उनले मेरोअटोसँग भने, ‘हालसम्म पुलको ढलानको काम सकिएको छ । अब अण्डरपास भित्रको माटो झिक्ने, भुइँमा कंक्रिट ढलान गर्न बाँकी छ । समग्रमा करिब ६० प्रतिशत काम सकियो ।’ बाँकी काम अबको ४ महिना भित्रै सम्पन्न हुने उनको भनाइ छ ।

साँगामा भक्तपुरबाट बनेपातर्फ जाने सवारी अण्डर पास र बनेपाबाट भक्तपुर आउने सवारी सडकमार्ग हुँदै आवतजावत गर्नेछन् ।

यो अण्डरपास सूर्यविनायक-साँगा सडकको ठेक्का पाएकै आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभीले निर्माण गरिरहेको हो । छुट्टै ठेक्का लगाइएको होइन ।

सडकको आधा सकियो काम

१५.८ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडकलाई दुईखण्ड साँगा-धुलिखेल (८.३ किमी) र सूर्यविनायक-साँगा (७.५ किमी) छुट्टाछुट्टै ठेक्का लगाइएको छ । हालसम्म यस सडकको समग्रमा ५१ प्रतिशत काम सकिएको छ ।

सूर्यविनायक-धुलिखेल खण्डको भौतिक प्रगति ६० प्रतिशत पुगेको ८.३ किमी सडकमध्ये हालसम्म २ किमी सडक ६ लेनमा कालोपत्र गरिसकिएको छ । धुलिखेल-बाँसबारी (१ किमी) र बनेपाको पुलबजार-जनगल क्षेत्रमा १ किमी सडक कालोपत्र गरिसकिएको आयोजना प्रमुख महतोले जानकारी दिए ।

अन्य क्षेत्रमा पनि धमाधम काम भइरहेको उनले बताए । यस सडकमा नाला, आरसीसी वाल निर्माणको काम ९० प्रतिशत बढी सकिएको छ । त्यस्तै, बेस÷सबबेस राख्ने काम भइरहेको उनले बताए ।

यसखण्डमा एउटा घर र ६० वटा बिजुलीको पाल हटाउन बाँकी रहको उनले बताए । यो खण्ड निर्माणको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा पाएको छ । यसखण्डको हाल १ वर्ष म्याद थपिएको छ । सो अनुसार २०८३ मंसिर २३ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

त्यस्तै, ७.५ किमी लामो सूर्यविनायक.साँगाको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ । हाल सड खण्डमा वाल लगाउने, माटो भर्ने, सबबेस राख्ने, कल्भर्ट निर्माण लगायत काम धमाधम भइरहेको उनले बताए । आरसीसी वाल, प्लम वाल, नाला निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ भने २ वटा मात्रै कल्भर्ट बनाउन बाँकी छ ।

यसखण्डमा हालसम्म कालोपत्र सुरू गरिएको छैन । चाँडै कालोपत्र गर्न तयारी स्वरुप १ किमी क्षेत्रमा सबबेस राखिसकिएको उनले बताए । यसखण्डमा साइट क्लियरेन्सको काम बाँकी नै रहेको योजना प्रमुख महतोले बताए । उनका अनुसार अझै १५ वटा घर र १५३ वटा बिजुलीको पोल हटाउन बाँकी छ ।

यसखण्डको तोकिएको म्याद यही पुस २३ गते सकिँदै छ । निर्माण कम्पनीले १ वर्ष म्याद थप्न प्रस्ताव गरे पनि निर्णय भइनसकेको आयोजनाले जनाएको छ । यो खण्डको ठेक्का आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभीले ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा पाएको छ ।


Back_to_top