भारतमा बनेको कावासाकीको नयाँ मोटरसाइकल बजारमा आउँदै

काठमाडौं । कावासाकीले भारतमा रेट्रो डिजाइनमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले भारतीय बजारमा कावासाकीको नयाँ डब्लू २३० रेट्रो मोटरसाइकल ल्याउने भएको हो ।

भारतीय मिडिया रिपोर्ट अनुसार कम्पनीले नयाँ डब्लू २३० मोटरसाइकल सन् २०२६ को पहिलो महिनामै बजारमा ल्याउने उल्लेख गरेको छ ।

रेट्रो डिजाइनमा रहेको कावासाकीको डब्लू २३० मोटरसाइकल कावासाकीको नयाँ मोडल होइन । अन्य केही देशहरूमा यो पहिलेदेखि नै उपलब्ध छ । कावासाकी इन्डियाले भने अब बजारमा ल्याउने तयारी गरिरहेको हो ।

कम्पनीले बजारमा ल्याउन लागेको डब्लू २३० पनि भारतमै बनेको मोडल हो । त्यसैले यसको मूल्य पनि सोचेभन्दा निकै कम हुने अनुमान गरिएको छ ।

कावासाकीले २३० सीसी इन्जिनमा यसअघि भारतमै निर्माण भएको केएलएक्स २३० मोटरसाइकल बजारमा बिक्री गरिरहेको छ । भारतमा कावासाकीको मोटरसाइकल बजाज अटोले निर्माण गर्दै आइरहेको छ ।

स्लिम, क्लिन, कम्प्याक्ट र लाइट वेट चेसिसमा रहेको यो मोटरसाइकल सेमि डबल क्रयाडल स्टिल फ्रेममा बनेको छ । डब्लू २३० मा सिंगल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक, एसओएचसी, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम १७ पीएस पावर तथा १९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

कम्पनीले आरामदायी राइड, स्मुथ र रिल्याक्स क्रुजिङमा फोकस गरेर मोटरसाइकलको पर्फमेन्समा ट्युन गरेको छ । यसमा सर्कल टाइपको रेट्रो एलइडी हेडल्याम्प, डबल एनालग गेज, डिजिटल डिस्प्ले र मल्टिपल क्रोम इलिमेन्टस् पाउन सकिन्छ ।

साथै, डब्लू २३० मा अपराइट राइडिङ पोजिसन, टेलिस्कोपिक फ्रन्ट फोर्क, प्रिलोड एड्जस्टमेन्ट ट्वीन रियर सक, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस र टायरमा स्पोक ह्वील दिइएको छ ।

जापानी ब्राण्ड कावासाकीको डब्लू सिरिज सन् १९६५ साल बाट सुरू भएको हो । हालसम्म आइपुग्दा यो सिरिजले ६० वर्ष पूरा गरेको छ ।


Back_to_top