काठमाडौं । नेपालको मुस्ताङ जिल्ला र चीनको बोर्डरमा रहेको कोरोला नाकामा सुपर स्पोर्टस् मोटरसाइकल लगेर सौरभ ज्योतिले एउटा रेकर्ड बनाएका छन् । अहिलेसम्म यो बाटो हुँदै कसैले पनि सुपर स्पोर्ट मोटरसाइकल कोरोला पास पुर्याएको थिएन ।

ज्योतिले लगेको मोटरसाइकल होन्डाको सिबीआर १००० आर हो । यो सुपर स्पोर्टस् मोटरसाइकल रेसिङ ट्रयाकको लागि उपयुक्त मानिन्छ । तर, खराव बाटो हुँदै कोरोला पास यो मोटरसाइकल लान सक्नु ज्योतिको ठूलो उपलब्धी हाे ।
हिजो शुक्रबार विहान कोरोला पास पुगेका ज्योति स्याकार ट्रेडिङका चेयरम्यान समेत हुन् । पछिल्लो समय मोटरसाइकलमा लगाव हुने युवाहरुको लागि एउटा म्यूजियम (एसजे मोटो) संचालनमा ल्याएर चर्चामा रहेका ज्योति आफुलाई मोटरसाइकल प्रेमी भन्न रुचाउँछन् ।
‘मैले केही फरक गर्ने योजना सहित सुपर स्पोर्टस् बाइक लिएर कोरोला नाका गएको हुँ । यसले आन्तरिक पर्यटनको साथै बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने छ’, ज्योतिले मेरोअटोसँग भने ।


