काठमाडौं । पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा इलेक्ट्रीक स्कुटर चढ्ने मानिसले ५ वर्षमा करिब ४ लाख रुपैयाँ बचत गर्न सक्ने देखिएको छ । यदि ५ वर्षपछि उसले ब्याट्री परिवर्तन गर्न एक लाख रुपैयाँ नै खर्च गरेपनि ३ लाख रुपैयाँ बचत गर्न सक्छ ।
अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ हाराहारी पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य मात्र होइन पछिल्लो समय लगातार मोटरसाइकल तथा स्कुटरको मूल्यसमेत वृद्धि भइरहेको छ ।
यस्तोमा आफ्नो दैनिक काममा ओहोर दोहोर गर्न चाहिने स्कुटरसम्म खरिद गर्न कठिन हुने अवस्था आइरहेको छ । अहिले बजारमा उपलब्ध पेट्रोलबाट चल्ने स्कुटर र इलेक्ट्रीक स्कुटरले ५ वर्षसम्म गर्ने खर्चलाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
सुरुमा किन्दा लाग्ने मूल्य
सुरुमा किन्दा स्वभाविक रुपमा इलेक्ट्रीक स्कुटर महंगो हुन्छ । बजारमा उपलब्ध सबैभन्दा राम्रो र महंगो इलेक्ट्रीक स्कुटर सुपर शोको पीसीएक्स र चल्तीको स्कुटर किन्दा लाग्ने खर्चलाई तुलना गर्न सकिन्छ ।
अहिले चल्तीको स्कुटर २ लाख ८० हजारसम्ममा किन्न पाइन्छ । सुपर शोको पीसीएक्स इलेक्ट्रीक स्कुटर सिंगल ब्याट्री अप्सनको मूल्य ४ लाख ५९ हजार रुपैयाँ रहेको छ । मूल्यमा १ लाख ७९ हजार फरक भएर पनि ५ वर्षपछि करिब ३ लाख कसरी बचत हुन्छ भन्ने कौतुहलता धेरैमा रहेको पाइन्छ ।
इन्धन खर्च
अहिले बजारमा उपलब्ध स्कुटर प्रतिलिटर ३० देखि ४० किलोमिटरसम्म माइलेज दिन्छन् । यसको औषत ३५ किलोमिटर प्रतिलिटर माइलेजले हिसाव गर्दा एउटा सामान्य स्कुटरले दैनिक १.४ लिटरसम्म पेट्रोल खपत गर्छ । हामीले दैनिक औषत ५० किलोमिटर यात्रालाई यहाँ उल्लेख गरेका छौं । पेट्रोलको अहिलेकै मूल्य प्रतिलिटर १८० रुपैयाँ कायम हुने हो भने पनि यसले वार्षिक ९० हजार बराबरी रुपैयाँको इन्धन खपत गर्छ ।
अब दैनिक ५० किलोमिटर नै चल्न इलेक्ट्रीक स्कुटर प्रयोग गर्ने हो भने यसलाई चार्ज गर्न २०३ यूनिट विजुली खर्च हुन्छ । उक्त विजुलीको अहिलेको अधिकतम मूल्य ११ रुपैयाँ प्रतियूनिटले हिसाव गर्दा पनि २ हजार २३३ रुपैयाँ खर्च हुन्छ ।
इलेक्ट्रीक स्कुटर चढ्नेले वार्षिक ८४ हजार ६३७ रुपैयाँ बचत गर्छ ।
सर्भिसिङ खर्च
कम्बस्चन इन्जिन समयमा सर्भिसिङ भएन भने धेरै किसिमको खरावी आउँछ । त्यसैले कम्पनीहरुले २ हजारदेखि २ हजार ५०० किलोमिटर गुडेपछि वा हरेक ४ महिनामा सर्भिसिङ गर्नु पर्ने भन्छन् ।
हामीले दैनिक ५० किलोमिटर यात्रा गर्ने मानिसलाई आधार मानेर यो रिपोर्ट तयार गरेको कारण पेट्रोल स्कुटर वर्षमा ७ पटकसम्म सर्भिसिङ गर्नु पर्ने हुन्छ । सर्भिसिङ गर्दा इन्जिन आयल र एयर फिल्टर फेर्दा पनि करिब १२ हजार रुपैयाँ खर्च हुने देखिन्छ । हरेक वर्ष ब्रेक प्याडपनि परिवर्तन गर्नु पर्ने हुन्छ ।
तर, इलेक्ट्रीक स्कुटरमा ब्रेक प्याड मात्रै परिवर्तन गर्दा पुग्छ । त्यसको लागि करिब ४ हजार हजार खर्च हुने अनुमान गर्न सकिन्छ । यसको मतलव इलेक्ट्रीक स्कुटर चढ्ने मानिसले वार्षिक ८ हजार रुपैयाँ सर्भिसिङबाट पनि बचाउँछ ।
अन्य खर्च
यसका अलावा पेट्रोलबाट चल्ने स्कुटरको इन्जिनसँग सम्बन्धीत पार्टस्को अलगै खर्च आउँछ । औषतमा ३० देखि ४० हजार किलोमिटर गुडेसँगै त्यसको इन्जिन बनाउन १० देखि २० हजारसम्म खर्च गर्नु पर्ने हुन्छ । यो ५ वर्षमा करिब २० हजार हुन आउँछ । त्यसको लागि औषत वार्षिक ४ हजार रुपैयाँ खर्च हुन्छ ।
अन्त्यमा किन्दा बढी मूल्य इलेक्ट्रीक स्कुटरको भएपनि बचत पनि यसैले गर्ने देखिन्छ । औषतमा पेट्रोल स्कुटर चढ्ने मानिसले वार्षिक ९२ हजार ६३७ रुपैयाँ बढी खर्च गर्ने देखिन्छ । यसरी खर्च गर्दा ५ वर्षमा उसले ४ लाख ६३ हजार १८५ रुपैयाँ बचत गर्छ ।
सुरुमा किन्दा १ लाख ७९ हजार बढी तिरेपनि उसले समग्रमा ५ वर्षपछि २ लाख ८३ हजार रुपैयाँ बचत गर्न सक्छ । तर, यहाँ सुरुमा तिरेको बढी रकमको ब्याज भने हिसाव गरिएको छैन । उसले ५ वर्ष चलाउँदा इलेक्ट्रीक स्कुटर ब्याट्री पनि परिवर्तन गर्नु पर्ने अवस्था भने आउन सक्छ । त्यसको लागि ६० देखि ९० हजार अतिरिक्त खर्च गर्नु पर्ने हुन्छ । यसलाई भने यहाँ जोडिएको छैन ।
अर्को महत्वपूर्ण विषय उसले सून्य कार्वन उत्सर्जन गर्छ भने वार्षिक कर पनि कम्बस्चनको तुलनामा कम तिर्छ ।


