समाजिक दुरीको असरः सेकेन्ड ह्याण्ड बजारमा कार अभाव

काठमाडौं । कोभिड १९ को कारण बजारमा सेकेन्ड ह्याण्ड कारको अभाव भएको छ । नयाँ गाडी किन्ने मानिसको कमीसँगै सेकेन्ड ह्याण्ड कार बिक्री गर्ने मानिसमा कमी आएकाले रिकन्डिसन हाउसहरुमा कार पाउनै नसकिने अवस्था आएको छ ।

ग्राहकले पुराना गाडी बिक्री गरेर नयाँ किन्दा बजारमा ठूलो परिमाणमा रिकन्डिसन कारहरु उपलब्ध हुने गरेको थियो । तर, अहिले मानिसको आम्दानीको स्रोतमा कमी आएकाले पुराना गाडी बिक्री गरेर नयाँ किन्ने मानिस नहुँदा रिकन्डिसन हाउसहरुमा कार उपलब्ध नरहेको व्यवसायीहरुको भनाई छ ।

‘हामीसँग केही गाडी थिए । लकडाउन अन्त्यपछि हामीले ति गाडी बेच्यौं । तर, अहिले थप गाडी बजारमा आएका छनैन् । त्यसैले हाम्रा रिकन्डिसन हाउसहरु खाली प्रायः छन्’, श्रेया अटोमोवाइललका सचिन कुईकेलले भने ।

उनका अनुसार नयाँ गाडी किन्नेले पनि साना र सस्ता ह्याचव्याक कार किनिरहेका छन् । रिकन्डिसनमा पनि साना गाडीको माग उच्च रहेको छ तर, सप्लाई छैन । यसले रिकन्डिसनमा कार किन्ने सोच बनाउनेहरुलाई तत्काल गाडी किन्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।

अहिले गाडी बिक्री गर्ने मानिस नै नआएको भन्दै कुईकेल भन्छन् ‘साना गाडी किन्न खोज्ने धेरै छन् । बिक्री गर्ने मानिस नै छैन । ठूला कर्पोरेट हाउसमा काम गर्ने, प्रमोशन पाएर ठूलो गाडी पाउने मानिसको सानो गाडी एकाध बिक्रीमा आउँछ । यस्तो बाहेक अन्य आफ्नै उद्यम गर्ने मानिस गाडी बिक्री गर्न आएका छैनन् ।’

कति मूल्यमा आउछन् रिकन्डिसन कार

अहिले बजारमा ५ लाखदेखि २० लाख मूल्यसम्मका राम्रा रिकन्डिसन कारहरु खोज्ने ग्राहकहरु धेरै छन् । सामान्य समयमा यो रकम खर्च गर्ने मानिसले राम्रो कार किन्न सक्ने थिए । तर, अहिले कोभिड बिरुद्धको लडाईमा सामाजिक दुरी कायम गर्न सकभर मानिसले निजी सवारी साधन खोजिरहेका छन् ।

अहिले बजारमा ठूला २० लाखभन्दा माथिका गाडी खोज्ने ग्राहक एकदमै कम भएको रिकन्डिसन कार बिक्रेताहरुको भनाई छ । २० देखि २५ लाख रुपैयाँमा साना इन्ट्री लेवलका नयाँ कारहरु नै बजार किन्न पाइने हुँदा मानिसहरु धेरै रकम खर्च गरेर पुराना गाडी किन्न चाहँदैनन् ।


Back_to_top