नारी हठकाे अगाडि हार्‍यो चीन सरकार !

चीनको गुआंगडोंग प्रान्तकी एक महिलाको हठकाे अगाडि चीनको सरकार हारेपछि अहिले त्यहाँ निकै अनौठो दृश्य देख्न पाइन्छ । प्रान्तमा एउटा फास्ट लेन राजमार्ग छ, जसको बीचमा एउटा घर छ, जुन घर देख्दा मानिसहरु चकित पर्छन् । यो घरकी मालिक एक महिला हुन् जसले राजमार्गमा तीब्र गतिमा गुडिरहेका गाडीहरुको ठिक बीचमा रहेर आफ्नो जीवन बिताइरहेकी छिन् ।

द सनको रिपोर्टअनुसार ती महिलाको घर यहाँ राजमार्गको निर्माण हुनुभन्दा पहिलेदेखि नै थियो । सरकारले राजमार्ग निर्माण गर्ने क्रममा उनको घर हटाउन चाह्यो तर महिलाले मानिन् । सरकारले ती महिलालाई त्यहाँबाट हटाउन निरन्तर १० वर्षसम्म प्रयास गर्यो तर ती महिला आफ्नो अडानबाट पटक्कै पछि हटिनन् । सरकारले त्यस ठाँउकाे वदलामा अन्य उत्कृष्ठ ठाँउ तथा नगद क्षतीपूर्तिकाे अवसर प्रदान गरेकाे थियाे तर उनी टसमस भइनन् ।

अन्ततः १० वर्षको प्रयासपछि सरकारले हार मान्यो । महिलाले त्याे ठाउँ छाड्दै नछाड्ने र त्यहीँ बस्ने अडान लिएपछि सरकारले महिलाको घर नहटाइ राजमार्ग निर्माण गर्ने विकल्प रोज्यो ।

यो घरकी मालिक महिलाको नाम लिआंग हो । रिपोर्टअनुसार सरकारले उनलाई यहाँबाट हटाएर कुनै आदर्श स्थानमा राख्न नसकेकोले यी महिला यहाँबाट हट्न अस्वीकार गरेकी हुन् । उनले भनिन् ‘तपाइँलाई लाग्न सक्छ यहाँको माहोल खराब छ तर मलाई लाग्छ कि यो शान्त, मुक्त, सुखद र आरामदायक छ ।’ उनका अनुसार उनी आउने परिणामसँग जुध्नको लागि खुसी थिइन् र अरुले आफ्नो बारेमा के सोच्छन् भन्ने चासो दिँदैनथिन् ।

सरकारले घरको चारैतिर राजमार्गको पुल निर्माण गर्यो र घरलाई त्यहीँ रहन दियो । अहिले महिला गाडीहरुको बीचमा आफ्नो जीवन बिताइरहेकी छिन् । महिलाले राजमार्ग बन्नुभन्दा अगाडि १० वर्षसम्म घर बेच्न अस्वीकार गरिरहिन् । सरकारले उनलाई दिन चाहेको मुआब्जा लिन पनि अस्वीकार गरिरहिन् । उनको यो १ तले घर ४० वर्गमिटरको छ । ग्वांडोंग टिभी स्टेशनका अनुसार यो घर अहिले ४ लेन ट्राफिक लिंकको बीचमा एक खाल्डोमा छ ।

 


Back_to_top