दुनियाँमा प्रत्येक दिन नयाँ नयाँ प्रयोगहरू भइरहेको हुन्छ । स्वीडेनको एउटा स्टार्ट अप कम्पनीले एउटा सानदार कन्सेप्ट प्रस्तुत गरेको छ । ‘इनराइड’ नाम गरेको यो कम्पनीले संसारको पहिलो इलेक्ट्रीक मालबाहक ट्रक पेश गरेको छ । यो ट्रकको खास विशेषता भनेको ट्रक चलाउन कुनै पनि चालकको जरुरत पर्दैन । अर्थात् यो स्वचालित ट्रक हो ।
‘टी लग’ नामले बनाइएको यो स्वचालीत ट्रक विशेषत जंगलमा चलाउनका लागि डिजाइन गरिएको हो । यसको डिजाइन यसरी निर्माण गरिएको छ, जसलाई घनाजंगल र दुर्गम स्थानहरूमा पनि सजिलै चलाउन सकिन्छ । यो ट्रकलाई ‘गुडउड फेस्टिवल अफ स्पीड’मा पहिलोपटक देखाइएको हो ।
यो ट्रकमा सेल्फ न्याभिगेसन सिस्टम जडान गरिएको छ, जुन फोरजी सिमको सहायताले चल्छ । टिम्बर व्यवसायमा यस ट्रकको काम धेरै आउने सम्भावना रहेको छ, किनकी यस व्यवसायमा ट्रान्स्पोर्टेसनको धेरै समस्या रहेका छन् ।
यसलाई सञ्चालन गर्न एकजना अपरेटरको जरुरत पर्छ । जो धेरै टाढा बसेर सबै ट्रकलाई जीपीएस नेविगेशन सिस्टमको सहायताले कन्ट्रोल गर्छ । यो डिजाइनको ट्रकमा चालकको लागि कुनै क्याविनको व्यवस्था गरिएको छैन । जसको कारण ट्रकमा धेरैभन्दा धेरै सामानका लागि ठाउँ हुनेछ । यसमा एनवीडीया सेल्फ ड्राइभिङ्ग सिस्टमको प्रयोग गरिएको छ ।
नयाँ तथा अत्याधुनिक टेक्नोलोजीको प्रयोग
यस ट्रकमा अत्याधुनिक टेक्नोलोजीको प्रयोग भएको छ । यसमा ३६० डिग्री घुम्ने क्यामरा जडान गरिएको छ, जसले आफ्नो आसपासको इलाकाको सबैतिर निगरानी राख्नसक्छ ।
यो ट्रक अपरेट गर्न एउटा विशेष प्रकारको सफ्टवेरको विकास गरिएको छ, जसको सहायताले ट्रकहरूको लस्करले पहिला नै रुट जेनरेट गर्छ । सबै ट्रक आ–आफ्नो तोकिएको रुटमा मात्र गुड्नेछ । यसमा क्यामरा, ‘लाइडर्स तथा राडार’ जस्तो सुविधाहरूको प्रयोग गरिएको छ ।
यसको व्याट्रीको क्षमता ३०० किलोवाट रहेको छ, जसले एकपटकको फूल चार्जमा २०० किलोमिटरसम्म चल्छ । यो ट्रकले १६ टन सामान बोक्ने क्षमता राख्छ । यसको लम्बाई ७३३८ मिलिमिटर चौडाई २५५२ मिलिमिटर तथा उचाई ३५६३ रहेको छ ।
कम्पनीले यस ट्रकको बडी एकदमै मजबुद बनाएको छ, जो भारी सामान बोकेर गुड्न पूर्णतया सक्षम छ ।
कम्पनीले बताएअनुसार यसको व्यापारिक उत्पादन सन् २०२० बाट सुरु हुनेछ । ‘इनराइड’ एक यस्तो ‘स्टार्ट अप’ हो, जसले लगातार इलेक्ट्रीक गाडीहरू बनाएको छ । गतवर्ष पनि यही कम्पनीले राम्रो इलेक्ट्रीक गाडी बनाएको थियो, जसको नाम ‘टी प्याड’ रहेको छ ।


