काठमाडौं । नाडा अटो शो २०२३ मा सार्वजनिक भएको नयाँ ब्राण्ड सेरेसको एसयूभी धेरै मानिसले बुकिङ गरेका थिए । चाडपर्वको मुखमा भएको अटो शोमा ३०० भन्दा धेरै सेरेसका ईभी बुकिङ भएको कम्पनीले जनाएको थियो ।
एमएडब्लू वृद्धिले नेपाल ल्याएको SERES 3 उच्च ग्राउन्ड क्लियरेन्स र मस्कुलर डिजाइनको कारण ग्राहकको नजरमा परेको थियो । अक्टोबरमा डेलिभरी दिने भन्दै बुकिङ लिएको SERES 3 दशैं अगाडि भने ग्राहकले नपाउने भएका छन् ।
कम्पनीले दशैं अगाडि नै केही ग्राहकलाई SERES 3 दिने योजना बनाएको भएपनि गाडी नआइपुग्दा डेलिभरी गर्न नसकिने अवस्था आएको कम्पनीको भनाइ छ ।
‘हामीले नाडामा नै दशैं र तिहारको बीचमा डेलिभरी दिने कुरा ग्राहकलाई बताएका थियौं । अहिलेको अवस्थासम्म हामी दशैं लगत्तै डेलिभरी दिन सक्ने अवस्थामा छौं’, कम्पनीका बिजनेश हेड प्रसन्न पन्तले भने ।
उनका अनुसार दशैं सकिएपछि गाडी लिने तयारी थाल्न ग्राहकलाई सुचना दिने काम भएको छ । ग्राहकले पनि आफ्नो तयारी गरिरहेको कम्पनीको भनाइ छ ।
दुई भेरियन्ट आउने
एमएडब्लू वृद्धिले SERES 3 दुई भेरियन्टमा नेपाल ल्याउने छ । कम्पनीले सुरुवाती मूल्यभन्दै नाडामा कम्र्फट भेरियन्टलाई ४७ लाख ९९ हजार र प्रिमियम भेरियन्टलाई ४९ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिएको थियो । अटो शोकै दौरान यसको नयाँ मूल्य तोकिएको थियो । अहिले बढेर कम्फर्ट भेरियन्टको ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ५२ लाख ९९हजार रुपैयाँ बनाइएको छ ।

ब्याट्री र प्रतिस्पर्धी
चिनियाँ ब्राण्ड सेरेसको यो एसयूभीले मूल्य र ब्याट्री साइजको आधारमा एमजी ZS EV र बीवाइडी Atto3 एड्भान्स भेरियन्ट बीच प्रतिस्पर्धा हुन्छ । कम्पनीले यसमा ५२ किलोवाट आवरको ब्याट्री दिएको छ ।
यसका प्रतिस्पर्धी एमजीमा ५१ र एटो ३ मा ५० किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । रेन्जमा पनि यी तीनवटै मोडलले लगभग समान रेन्ज प्रदान गर्छन् ।
ग्राउन्ड क्लियरेन्स र मोटर
आफ्ना प्रतिस्पर्धीभन्दा बढी ग्राउन्ड क्लियरेन्स यसको बलियो पक्ष हो । एमजी ZS EV र बीवाइडी Atto3 मा समान १७५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
तर, SERES 3 मा भने १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा ९९ किलोवाट क्षमताको मोटर छ ।
फिचर
आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित SERES 3 ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै प्रयाप्त हेडरूम र लेगरूम दिएको छ ।
चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।

