महानगर यातायातले सुरू गर्यो काठमाडौं बाहिरका ३ सहरमा ईभी बस सेवा

काठमाडौं । महानगर यातायातले आफ्नो बस सेवा काठमाडौं उपत्यकाबाहिर विस्तार गरेको छ ।

कम्पनीले शनिबारदेखि उपत्यका बाहिरका तीन सहर पोखरा, चितवन र भैरहवामा विद्युतीय माइक्रोबस सेवा सुरू गरेको हो ।

कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले २० वटा विद्युतीय माइक्रोबस मार्फत उपत्यका बाहिर सेवा सुरू गरिएको बताए ।

उनले बस सेवा यात्रुको माग अनुसार बस संख्या क्रमशः बढाउँदै लैजाने तथा अन्य शहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए ।

उनले छिट्टै काठमाडौंलाई अन्य प्रमुख शहरसँग सहज रूपमा जोड्ने गरी ठूला विद्युतीय बस संचालनमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।

उनले कम्पनीले निकट भविष्यमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।

महानगर यातायातले विगत १० वर्षदेखि काठमाडौं उपत्यका र धुलिखेलसम्म बस सेवा दिँदै आएको छ । कम्पनीका बसहरू काठमाडौंको चक्रपथ र थानकोटदेखि धुलिखेलसम्म संचालन हुँदै आएका छन्। कम्पनीले यसअघि १०१ वटा बसमार्फत सेवा दिँदै आएको छ ।


Back_to_top