काठमाडौं । सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको संयुक्त लगानीमा तयार पारेको इलेक्ट्रीक स्कुटर धमाधम सडक परीक्षण भइरहेको छ ।
नेपालमै बनेको पहिलो इलेक्ट्रीक स्कुटर ‘पी टु’ हालसम्म ७ हजार किलोमिटर गुडाएर सडक परीक्षण गरिएको हो ।
यात्री मोटरसाइकलले सामाजिक संजाल फेसबुकमार्फत उक्त इलेक्ट्रीक स्कुटर देशभरका कठिन सडकमा परीक्षण भइरहेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार हालसम्म उक्त स्कुटर पहाडका उकालोओरालो सडकदेखि तराई सिधा सडकमा गुडाइएको छ । परीक्षणका क्रममा हालसम्म पी टु स्कुटर देशका १० स्थानमा पुगिसकेको छ ।
हालसम्म काठमाडौं, भक्तपुर, नुवाकोट, कुरी, जिरी, मूलकोट, कटारी, फापरबारी, हेटौंडा, भरतपुर, राम्दीघाट र वालिङसम्मको सडकमा चलाइएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले दैनिक ४०० किलोमिटर बढी चलाएर परीक्षण गरिरहेको हो । कम्पनीले उक्त स्कुटर कहिले सार्वजनिक गर्ने आधिकारिक घोषणा गरेको छैन । सम्भवतः २०८३ सालको सुरुमै आउन सक्ने अनुमान गरिएको छ ।
यात्री पी-टु स्कुटरको सम्पूर्ण डिजाइन र डेभलपमेन्टको काम नेपालमै गरिएको हो । यात्री डिजाइन स्टुडियोले नेपालमै पहिलो पटक यात्री पी-जिरो र यात्री पी-वान मोटरसाइकल सार्वजनिक गरेको थियो ।

