२० लाखदेखिका ईभीले बढाउलान् क्रसओभर र ह्याचव्याकको बजार

काठमाडौं । एक वर्ष अघिसम्म नाम नै नसुनेका चिनियाँ उत्पादकले बनाएका सिटी कार नेपाल आइरहेको थियो । अब बिस्तारै समय फेरिदै गएको छ । बजारमा नाम चलेका ब्राण्डले नै सिटी लक्षित ईभी ल्याउन थालेका छन् ।

उसोत महिन्द्राले सिटी कारबाटै विद्युतीय साधनमा आफ्नो यात्रा थालनी गरेको थियो । अहिले महिन्द्राका कुनै पनि साना ईभी किन्न पाइदैन । नेपालको सडकमा विद्युतीय एसयूभीको संख्या बढ्दै जाँदा कम बजेटमा ईभी किन्न चाहने मानिससँग खासै छनोट उपलब्ध थिएन ।

सेडान कारको बजारमा उत्साहजनक रहन नसकेको समयमा टाटाले टिगोर ईभी ल्याएर बजारमा सेडानको सम्भावना खोज्ने काम गरेको छ । तर, उसको सम्भावना खोजाइमा ठूलो सफलता भने हात लाग्न सकेन । यद्यपि, सेडान सेग्मेन्टमा टिगोर ईभी अब्बल नै सावित भइरहेको छ ।

बिस्तारै क्रसओचर र ह्याचब्याक सेग्मेन्टमा नयाँ उत्पादन आउन थालेका छन् । क्रओभर सेग्मेन्टमा नेटा भी र सिट्रोन ईसीथ्री बजारमा आइसकेका छन् । यी दुबै कार ४० लाखभन्दा कम मूल्यमा पाइन्छ । यी क्रसओभरले भोलिका दिनमा कस्तो बजार पाउने हुन्, अहिले धेरैको चासो यसमा रहेको पाइन्छ ।

बजारमा साना र कम मूल्यका कार खोज्ने ग्राहक छन् । तर, विद्युतीय कारमा धेरै छनोट थिएन । अब ग्राहकले राम्रो ब्राण्डका साना ईभी छनोटमा पाउने छन् । अहिले विलिङले बिक्री गर्दै आएको एयर मिनी, टाटाले नेपाल ल्याउन लागेको टियागो ईभी र एमजी कोमेट ईभी ग्राहकले छनोट गर्न सक्ने छन् ।

आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शोसम्मबाट यी सबै ह्याचव्याक बजारमा उपलब्ध हुनेछन् । यी ह्याचव्याकहरु मूल्यका हिसावले पनि निकै राम्रो हुने अनुमान गरिएको छ । सम्भवत २० लाखदेखि ३० लाख रुपैयाँ भित्रै बजारमा आउने यी ईभीहरुले ह्याचव्याकको बजार फर्काउने अनुमान भइरहेको छ ।

एसयूभी र विद्युतीय कारको बढ्दो आकर्षणका बीच नेपाल आउने साना ह्याचव्याकले साँचै ब्यापार कस्तो गर्लान्, यो अटोमोवाइल क्षेत्रलाई नजिकबाट नियाल्नेको लागि चासोको विषय हो ।


Back_to_top