ग्राहकको छनोटमा पर्दैनन् कुनै समयका चर्चित ३ ह्याचव्याक

काठमाडौं । ‘पर्फेक्ट फ्यामली कार’ नारा दिएर बजारमा विक्री हुँदै आएका मारुती सुजुकी सेलेरियो, हुन्डाई सेन्ट्रो र रेनो क्वीडको विक्री संकटोन्मुख रहेको पाइन्छ । कुनै समय सर्वाधिक धेरै बजार हिस्सा रहेको इन्ट्री लेभल ह्याचव्याक कार अहिले ग्राहकले आँखा नै लगाउन छाडेका छन् ।

सन् २०१८ पछि बजारमा यो सेग्मेन्टले लगातार बजार हिस्सा गुमाउँदै गएको जानकारहरु बताउँछन् । कुनै समय ३० प्रतिशतभन्दा धेरै बजार हिस्सा रहेको इन्ट्री लेभल ह्याचव्याक सेग्मेन्ट अहिले १० प्रतिशतभन्दा कम बजार हिस्सामा समेटिएको छ । यसरी यो सेग्मेन्टको बजार हिस्सा घट्नुमा एसयूभी क्रेज बढ्नुलाई मुख्य कारण मानिएको पाइन्छ ।

लामो समय भारत र नेपालमा एक लौटी राज गरेको हुन्डाई सेन्ट्रो अब सधैंको लागि बन्द भएको छ । कम्पनीले सानो माइक्रो एसयूभीमा अपग्रेड गर्ने भन्दै रेगुलर ह्याचव्याक मोडल बन्द गरेको हो । संम्भवत जनवरीमा भारतको दिल्लीमा आयोजना हुने अटो एक्स्पो २०२३ मा हुन्डाईले सेन्ट्रोमा आधारित माइक्रो एसयूभी सार्वजनिक गर्ने छ ।

त्यसैगरी केही महिना अघि मात्रै सार्वजनिक भएको नयाँ जेनेरेशन सुजुकी सेलेरियोको विक्री पनि निकै निरासाजनक रहेको छ । भारतमा निकै राम्रो संख्यामा विक्री वितरण हुँदै आएपनि नेपालमा सेलेरियोको विक्री उत्साहजनक हुन सकेको छैन । सेलेरियोको स्थानमा मंहगो भएपनि मानिसले स्वीफ्ट वा ब्रेजा खरिद गरिरहेका छन् ।

त्यस्तै, रेनो क्वीड पनि कुनै समय निकै सफल मोडल हो । सन् २०१८ मा नेपाल आएको क्वीड कम मूल्यमा फिचर लोडेड भएकै कारण सुरुदखि नै चर्चा रहेको मोडल थियो । विस्तारै कम्पनीले ट्राइबर र काइगर जस्ता मोडल बजारमा ल्याएसँगै क्वीडको विक्रीमा निकै कमी आएको हो ।

यी तीन वटै कार सानो परिवारको लागि निकै उपयोगी मानिने मोडल हुन् । तर, ग्राहकको एसयूभी प्रतिको मोहका कारण यी मोडलको विक्रीमा उच्च गिरावट आएको छ ।

सानो र किफायती इन्जिन, अत्यन्त न्यून सर्भिसिङ लागत, सस्तो स्पेयर पार्टस् जस्ता कारण यी इन्ट्री लेभल ह्याचव्याकले राम्रो विक्री पाउन सफल भएका थिए । अबभने यी मोडलको विक्री धेरै मानिसको सम्झनामा मात्रै सिमित हुने अवस्था सृजना हुने देखिदै छ ।

अहिले नेपामा हुन्डाईले सेन्ट्रोको विभिन्न ५ भेरियन्ट, सुजुकीले सेलेरियोको ३ भेरियन्ट र रेनोले क्वीडको पनि ३ भेरियन्ट विक्री गर्दै आएका छन् । यी कारको मूल्य २५ देखि ३० लाख भित्रै रहेका छन् ।


Back_to_top