काठमाडौं । आज सेप्टेम्बर ९ तारिख, विश्व ईभी दिवस । सुन्दा र चढ्दा सानदार लाग्ने ईभीको उत्पादन, बजारीकरण र त्यसमा आउन सक्ने चुनौती पनि त्यति कै धेरै छन् । कुनै समय अमेरिकी कार निर्माताहरुले ठूलो लगानी गरेर खोज गरेको ब्याट्रीमा आधारित सवारी साधनको अवधारणालाई सन् २०१० पछि चीनले व्यापकरुपमा विकास र विस्तार गरेको हो ।
मानव निर्मित वातावरणीय दोहन रोक्नभन्दै विश्वका सम्पन्न राष्ट्रहरुले बैकल्पीक उर्जाको प्रयोग बढाउनु पर्ने धारणा अगाडि सारिरहेको समयमा नेपाल जस्ता अल्पविकसित देशहरुमा विद्युतीय गाडीको भविष्य कस्तो हुने भन्ने चर्चा चलिरहेको थियो । चर्चासँगै यहाँका सवारीसाधन विक्रेता कम्पनीहरुको आँखा ईभीमा गडेकै थियो । त्यसैले त सन् २०१८ बाट नेपालमा व्यवसायीक रुपमा ठूला विद्युतीय कारले प्रवेश पाए ।
सुरुमा सन् १९९८ बाट सफा टेम्पोको रुपमा ईभी चढ्न थालेका नेपालीहरुले सन् २०१० बाट विद्युतीय कारको प्रयोग थालेका हुन् । सुरुमा महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले विद्युतीय कार नेपाल ल्याएर विक्री गरेको थियो । रेभा ब्राण्डबाट आएको विद्युतीय कारपछि इटुओ हुँदै अगाडि बढेको थियो । सन् २०१७ मा बीवाइडी र २०१८ मा हुन्डाई आयोनीक विद्युतीय कारको रुपमा नेपाल आएसँगै ईभीको चर्चा चुलिएको थियो ।
भन्सार छुटले तान्यो ध्यान
भारतले विक्रम संम्बत २०७२ साल असोजबाट नाका बन्दी लगाएसँगै नेपाल सरकारले विद्युतीय गाडी आयातमा सहुलियत दिने घोषणा गरेको थियो । त्यतिवेला तात्कालीन अर्थमन्त्री डा. रामशरण महतले विद्युतीय गाडी आयातगर्दा १० प्रतिशत भन्सार शुल्क बाहेक अन्य कर तिर्नु नपर्ने व्यवस्था गरेका थिए ।
यसलाई पछि विभिन्न चरणमा बनेका सरकारले निरन्तरता दिदै आएपनि आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत तात्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कर वृद्धि गरे । उनले गरेको कर वृद्धि व्यापक विरोधपछि नयाँ अर्थमनत्री विष्णुप्रसाद पौडेल आएर फिर्ता लिए ।
त्यसपछि पनि ईभीमा लाग्ने कर नेपालमा सधै विवादमा पर्दै गयो । चालु आर्थिक वर्षबाट पुनः ईभीमा कर वृद्धि भएको छ भने गाडीको उपलब्धता पनि अत्यन्त न्यून छ ।
विद्युतीय मोटरसाइकलको आयात बढ्यो
अहिले नेपालमा विक्री न्यून भएपनि विद्युतीय मोटरसाइकल ब्राण्डको उपस्थिति भने बढेको छ । विभिन्न स्टाटअप कम्पनीहरुले उत्पादन गरेका १ लाख ५० हजार मूल्यदेखि ६ लाखसम्मका मोटरसाइकल तथा स्कुटर नेपालमा उपलब्ध रहेका छन् ।
पहिलो पटक नेपालमा आफ्नै डिजाइन सहितको विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने ब्राण्ड यात्रीको स्थापना भएको छ । यसले भोलिका दिनमा नेपाल विद्युतीय साधन उत्पादन र प्रयोगमा एक कदम अगाडि बढ्ने विश्वास गर्न सकिन्छ ।

चार्जिङ पूर्वाधारमा लगानी बढ्दै
विद्युतीय कारको संख्या नेपालमा करिब ३ हजार यूनिट पुगेको छ । विगत ५ वर्षमा जसरी ईभीको प्रयोग विस्तार भएको त्यसैगरी चार्जिङ पूर्वाधार निर्माण पनि सुरु भएको छ । अहिले देशको हरेक कुनामा एसी चार्जर सजिलै पाउन सकिन्छ । साथै, ठूला र सहरी एरियामा निजी क्षेत्रले स्थापना गरेका चार्जिङ नेटवर्क संचालनमा आउन थालेका छन् ।
अहिले नेपालमा टाटा मोटर्स, एमजी मोटर्स, बीवाइडी जस्ता ब्राण्डले चार्जिङ नेटवर्क विस्तारमा ठूलो लागनी गरेका छन् भने नेपाल विद्युत प्राधिकरणले सरकारी तवरबाट चार्जिङ नेटवर्क निर्माणलाई तिब्रता दिएका छन् ।
कर्मशियलमा बढ्दै आकर्षण
अब नेपालमा विद्युतीय गाडी निजी मात्रै होइन, कर्मशियल पनि चल्न थालेका छन् । काठमाडौंबाट ओखलढुङ्गा, सिन्धुली, बर्दिवास, चितवन, पोखरासम्मको बाटोमा विद्युतीय माइक्रो बस संचालनमा आउन थालेका छन् । साथै, विक्रेताहरुले पनि चार्जिङ पूर्वाधार सहित कमर्शियल गाडी ल्याउन थालेका छन् ।
ठूला कमर्शियल बसमा भने सरकारी लगानी सहित साझा यातायातले सेवा सुरु गरेको छ । नेपालमा ठूला विद्युतीय बस चलाउने काम भने सुन्दर यातायातले गरेको थियो । त्यसको साथै, भैरहवा–लुम्बिनि क्षेत्रमा पनि विद्युतीय बस र भ्यान संचालनमा आएका छन् ।

आफ्नै विजुलीको प्रयोग
नेपालले विगत १० वर्षदेखि निजी, सरकारी र वैदेशिक लगानीको माध्यमबाट विद्युत उत्पादनलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको कारण उर्जा खपत बढाउनु पर्ने अवस्थामा आइपुगेको छ । एकतिर पेट्रोलियम पदार्थको कारण उच्च व्यापार घाटा हुनु र अर्कोतर्फ नेपालको विजुली उपभोग बढाउनु पर्ने कारण नेपाल सरकार र नागरिक स्तरबाट ईभी प्रयोगलाई जोड दिदै आएको अवस्था छ ।
जलवायु परिवर्तनको संकट टार्ने जमर्को
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो । विश्वका दुई उदयीमान अर्थतन्त्रको बीचमा पिल्सिएर रहेको नेपाल आफ्नो कारणभन्दा पनि छिमेकी देशको कारण जलवायु परिवर्तनको चपेटामा पर्दै आएको छ । त्यसैले नेपाल आफ्नो क्षेत्रमा र आफुले गर्ने प्रदुषण कम गर्न चाहन्छ ।
जलवायु परिवर्तनको कारण नेपालका हिमताल उच्च जोखिममा परेका छन् । हाम्रा हिमालमा हिउँ देखिन छाडेका छन् । तराई डुवानमा पर्दै आएको छ भने पहाड पहिरोको उच्च जोखिममा परेको छ । त्यसैले वातावरणिय सन्तुलन कायम गर्न पनि नेपालले ईभीको प्रयोग बढाउन जोड दिनु पर्ने देखिन्छ ।

