काठमाडौं । मर्सिडिज र जिली ग्रुपको संयुक्त लगानीमा चीनमा खुलेको स्मार्ट ब्राण्डको नेपालमा औपचारिक बिक्री सुरू भएको छ । नेपालको लागि स्मार्टको आधिकारिक बिक्रेता सीजी मोटर्सले स्मार्ट #3 एसयूभी नेपाल ल्याएर बिक्री थालेको हो ।
उसोत अघिल्लो वर्ष नै दुई युनिट स्मार्टको #3 नेपाल आएको थियो । तर, सीजी मोटर्सले आधिकारिक बिक्री भने थालेको थिएन । अब भने यसको बिक्री सुरू भएको हो ।
‘अहिले थापाथलीमा शोरुम निर्माणको काम अन्तिम चरण पुगेको छ । छिट्टै नयाँ शोरुमाबाट बिक्री सुरू हुन्छ । तर, अहिले नै किन्न चाहनेको लागि पनि हामी गाडी दिन सक्छौं,’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
‘स्टाइल वाइ मर्सिडिज बेन्ज एण्ड इन्जिनियर्ड वाइ जिली’ स्लोगन सहित बजारमा आएको #3 एसयूभी ०.२७ सीडी ड्रयाग कोफिसियन्ट भएको गाडी हो ।

रियर ह्वील ड्राइभ सिस्टम रहेको #3 को टर्निङ रेडियस ५.५ मिटर छ । एसयूभीको लम्बाइ ४४०० एमएम, चौडाइ १८४४ एमएम र उचाइ १५५६ एमएम छ । यसमा २७८५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
सीजी मोटर्सले बिक्री थालेको #3 क्रसओभर एसयूभीमा २०० किलोवाटको पावरफुल मोटर छ । उक्त मोटरले ३४२ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसको शून्यदेखि १०० किलोमिटरको स्पीड ५.८ सेकेण्डमा पुग्ने क्षमता छ ।
नेपाल आएको स्मार्ट #3 मोडल यूरोपमा पनि बिक्री वितरण हुँदै आएको मोडल हो । नेपाल ल्याइएको मोडलमा ६६ किलोवाट आवरको एनसीएम ब्याट्री छ । अधिकतम १५० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने एसयूभीलाई ७.४ किलोवाटको एसी चार्जरले घरमै चार्ज गर्न पनि सकिन्छ ।

सुरक्षा फिचर र टेक फिचरको लामो लिस्ट उपलब्ध क्रसओभर एसयूभी निकै प्रिमियम छ । १९ इन्चको ह्वील, फ्रेमलेस डोर, पानारोमिक सनरुफ, रेन सेनसिङ वाइपर लगायतका फिचर्सको लामो लिस्ट उपलब्ध छ ।
कम्पनीले तीन भेरियन्टमा उपलब्ध गराएको छ । जसमा प्रो प्लसको मूल्य ९९ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको १ कररोड १४ लाख ९९ हजार र प्रिमियम म्याटको मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री थालेको हो । एडास भित्रका फिचरको पनि निकै लामो लिस्ट रहेको स्मार्ट ह्यासट्याग थ्रीको क्याबिन पनि फिचर लोडेड रहेको छ ।
कम्पनी स्मार्ट #1 मोडलको पनि दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले #1 प्रो प्लसको मूल्य ९९ लाख ९९ हजार र प्रिमियमको १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

