काठमाडौं । आजबाट न्यूरोडका २ स्थानमा स्मार्ट पार्किङ सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मोयर विद्यासुन्दर शाक्यले औपाचारिक रुपमा स्मार्ट पार्किङको उद्घाटन गरेका हुन् ।
हाल न्यूरोडको धर्मपथदेखि इन्द्रचोकको आकाशे मन्दिरसम्म रहेको स्मार्ट पार्किङ सञ्चालनमा ल्याइएको हो । महानगरले न्यूरोडका अन्य स्थान र दरवारमार्गमा समेत स्मार्ट पार्किङ ल्याउने तयारी गरेको छ ।
पार्क केटीएम एप मार्फत सजिलै पार्किङका लागि बुकिङ गरि पार्किङको सुविधा लिन सकिने उद्घाटनका क्रममा मेयर शाक्यले जानकारी दिए । उनले क्रमिक रुपमा स्मार्ट पार्किङलाई विस्तार गर्दै लैजाने बताएका थिए । ‘हामीले अहिले नयूरोडमा मात्र सुरु गरेका छौं, यसको माग अनुसार स्मार्ट पार्किङ विस्तार गर्ने छौँ,’ शाक्यले भने ।
यस्तै उनले आज पीओएस मेसिनको समेत उद्घाटन गरेका हुन् । जसको प्रयोगबाट क्यूआर कोडसहितको रसिद गरिने छ । उक्त मेसिनले पार्किङ शुल्क तथा समय प्रिन्ट गर्नेछ । त्यसै अनुसार सेवाग्राहीले भुक्तानी गर्नु पर्ने हुन्छ । बुकिङ गरेको समय, पार्किङ गरिएको स्थान र पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट बील प्रिन्ट गरि दिइने छ ।
पार्किङ गर्दा २ पांग्रे सवारीले प्रतिघण्टा २५ रुपैयाँ तिर्नुपर्ने छ भने ४ पांग्रे सवारीले प्रतिघण्टा ८० रुपैयाँ तिर्नुपर्ने छ ।
हाल न्यूरोडमा रामेस्वरम, विसाल बजार, खिचापोखरी, धर्मपथ र इन्द्रचोकमा स्मार्ट पार्किङ व्यवस्था मिलाइएको छ । अन्य स्थानमा भने विस्तारै स्मार्ट पार्किङलाई कार्यन्वयनमा ल्याउदै जाने महानगरले जनाएको छ ।
यस्तै पार्किङका लागि बुकिङ १५ मिनेट अघि मात्र गर्न पाइने छ । १५ मिनेटसम्म पनि सवारी पार्किङमा नआए बुक स्वतः रद्द हुनेछ । सो पार्किङ स्थानमा सक्दो छोटो समयका लागि सवारी राख्न आग्रह सहित सबैलाई सवारी पार्किङको सुविधाका प्रदान गरिने छ ।
विहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टा स्मार्ट पार्किङ सञ्चालन हुनेछ । सेन्सर जडित सो स्मार्ट पार्किङका लागि आइफोन र एन्ड्रोइड मोबाइलमा पार्क केटीएम एप डाउनलोड गरेर पार्किङका लागि बुकिङ गर्न सकिने छ ।
विभिन्न स्थानमा राखिएका स्मार्ट पार्किङमा एकपटकमा करिब ८ सय वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने छ ।


