काठमाडौं । सरकार जेठ १५ मा ल्याएको बजेट मार्फत आयात हुने वस्तुहरुमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको थियो । यसअघि अन्तःशुल्क नलाग्ने अधिकांश बाइक लगायतका अन्य सवारीसाधनका पार्टपूर्जामा अन्तःशुल्क लगाइएको हो ।
बजेटपछि ब्रेक लाइनिङ, वाटर पम्प, स्प्रिङ पत्ता, स्पार्क प्लग, इन्जिन पिस्टोट, रिङ लगायत पार्टमा अन्तःशुल्क लगाइएको छ । विगतमा यी र यस्ता पार्टको आयातमा अन्तःशुल्क लाग्दैन थियो ।
सवारीसाधनमा लाग्ने ब्रेक लाइनिङदेखि स्पार्क प्लगसम्ममा ५ प्रतिशत अन्तःशुल्क लगाइएको छ । यसले सवारीसाधनको मर्मत महंगो हुने निश्चित भएको छ । सवारीसाधनमा लाग्ने पार्टपूर्जा प्रति सरकार निक्कै कठोर देखिएको छ ।
पुराना सावारी साधन मर्मत गर्दा चाहिने पार्टपूर्जा महंगो हुँदा गैरबाटोबाट हुने आयात बढ्दे सम्भावना धेरै हुन्छ । यसले सरकारी राजश्व संकलमा समेत असर गर्ने देखिन्छ । पार्टपूर्जा महंगो हुँदा गाडीवालाहरुले समयमै मर्मत नगर्ने र यसले सवारी दुर्घटनाको जोखिम बढ्ले व्यवसायीहरुको भनाई छ ।
सरकारले २०७६/७७ को बजेटमार्फत विगतमा अन्तःशुल्क नलाग्ने सवारीसाधनको पार्टपूर्जामा ५ प्रतिशत अन्तःशुल्क लगाएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजालले बताए ।
‘पार्टपूर्जा आयातमा अन्तःशुल्क थप हुँदा सवारी मर्मत महंगो हुने निश्चित छ,’ रिजालले भने, ‘विगतमा अन्तःशुल्क नलाग्ने सबै पार्टपूर्जामा अन्तःशुल्क लगाइएको छ ।’ साथै सरकारले आयात प्रतिस्थापन कार्ययोजनामा समेत पार्टपूर्जा आयातलाई निरुत्साहित गर्ने उल्लेख गरेको छ ।


