बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्म स्मार्ट सडक बत्ति राखिने, सीसीटीभीबाट निगरानी

काठमाडौं । बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बिजुली बत्ति राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सीसीटीभी जडान गरिनेछ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण-बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आधुनिक सीसीटीभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्ने छ ।

बत्ति र सीसीटीभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको छ । नदी एवम् नदी किनारमा फोहोर फालेमा त्यसको निगरानी सीसीटीभीमार्फत निगरानी गरिनेछ ।

१२० थान अत्याधुनिक प्रविधिका तापक्रम, धुलो तथा पानी प्रतिरोधी दिन-रात दुवै समयमा काम गर्ने क्यामेरा जडान गरी सर्भर र मनिटरिङ युनिट काठमाडौं उपत्यकाको प्रहरी कार्यालयमा रहने छ । अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ति,४८ थान फ्लड लाइट तथा ६ थान हाइमास्ट फ्लडलाइट जडान गरिनेछ । सीसीटीभी तथा बत्ति जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्ने छ ।

सीसीटीभी तथा बत्ति जडान भएपश्चात उक्त क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रीकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य रहेको छ ।


Back_to_top