अघि बढाइँदै हेटौंडा-नारायणगढ सडक विस्तार, फागुनसम्म टेन्डर खुलाइने

सांकेतिक तस्बिर

काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गत हेटौंडा-नारायणगढ सडकको स्तरोन्नति चाँडै अघि बढाउने भएको छ ।

हाल दुई लेन रहेको यस सडकलाई एसियाली विकास बैंक (एडीबी) सहुलयितपूर्ण ऋणमा चार लेनको बनाउने काम यसै वर्ष भित्रै सुरू गर्न लागिएको हो ।

७० किलोमिटर लामो हेटौंडा-नारायणगढ सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) र डिजाइन स्वीकृति अन्तिम चरणमा पुगेको छ । सडक विभाग, आयोजना निर्देशनालय (एडीबी)का निर्देशक चूडाराज ढकालले हेटौंडा-नारायणगढ सडकको ईआइए र डिजाइन स्वीकृतिको काम सँगसँगै भइरहेको बताए ।

उनले सडकको डिजाइनको काम सकी स्वीकृतिको चरणमा पुगेको बताए । उनका अनुसार डिजाइन सडक विभागले अध्ययन गरी सुधार गर्न सुझावसहित फिर्ता पठाएको बताए । अब विभागको सुझाव समेटी डिजाइनलाई अन्तिम रुप दिई स्वीकृतिका लागि पुनः विभागमै पठाउने तयारी भइरहेको उनले बताए ।

‘हेटौंडा-नारायणगढ सडकको डिजाइन बनिसकेको छ । एकपटक विभागमा पेस गरी केही सुझावसहित आएको छ । अब सुझाव समेटी स्वीकृतिका लागि केही दिनमै फेरि विभागमै पठाउने तयारी छ,’ उनले मेरोअटोसँग भने, ‘साथै, ईआइए स्वीकृतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।’

सम्भवतः आगामी एक/डेढ महिना भित्र डिजाइन स्वीकृति भइसक्ने आयोजनाले जनाएको छ । डिजाइन स्वीकृति भएपछि टेन्डर प्रक्रिया अघि बढ्ने उनले बताए । यस सडकको अनुमानित लागत करिब ५० अर्ब रुपैयाँ रहेको छ ।

सरकारले १०२७ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेको छ । हालसम्म काँकडभिट्टा-लौकही (९६ किमी), कमला-(कञ्चनपुर (८६.८३ किमी), कमला-पथलैया (१३० किमी), नारायणघाट बुटवल (११४ किमी) र बुटवल-गोरुसिंगे-चन्द्रौटा (६९ किमी)को ठेक्का सम्झौता भई विस्तारको काम भइरहेको छ । चाँडै हेटौंडा नारायणगढको पनि ठेक्का लगाउने तयारी गरेको हो ।

फागुन भित्रै टेन्डर खुलाइने

आयोजना निर्देशक ढकालका अनुसार हेटौंडा नारायणगढ सडकको विस्तारका लागि आगामी फागुनसम्म ठेक्का खुलाउने तयारी छ । उनले विभागबाट सडकको डिजाइन स्वीकृत भएपछि र एडीबीसँग ऋण सम्झौता भएपछि ठेक्का आह्वान गरिने बताए ।

‘हेटौंडा-नारायणगढ सडकको टेन्डर फेब्रुअरी (फागुन)सम्म खुलाउने तयारी छ । विभागबाट सडकको डिजाइन स्वीकृत भएपछि र एडीबीसँग ऋण सम्झौता गरेपछि टेन्डर प्रक्रिया अघि बढ्छ,’ उनले भने । यो सडकलाई दुई प्याकेजमा विभाजन गरी ठेक्का लगाउने तयारी भएको उनको भनाइ छ ।

हाल ऋण सम्झौताका लागि एडीबीसँग छलफल चलिरहेको उनले बताए । सम्भवतः जनवरी भित्र सम्झौता भइसक्ने उनले बताए ।

टिकौलीमा २ किमी लामो फ्लाइओभर बन्ने

हेटौंडा-नारायणगढ सडक सहरी क्षेत्रमा मुख्य सडक ६ लेन र दाँयाबाँया सर्भिस लेन निर्माण हुनेछ । अन्य क्षेत्रमा चार लेनको बनाइने छ ।

त्यस्तै, चितवनको टिकौली जंगल क्षेत्रमा २ किमी लामो फ्लाइओभर निर्माण गरिने भएको छ । यस क्षेत्रमा सवारी साधनको ठक्करबाट वर्षेनी कयौं वन्यजन्तु मर्ने गरेकाले सुरक्षाका लागि फ्लाइओभर निर्माण गर्न लागिएको हो । यो संरक्षित क्षेत्रमा बन्ने नेपालकै पहिलो फ्लाइओभर समेत हुनेछ ।

आयोजना निर्देशक चुडालका अनुसार फ्लाओभर माथिबाट सवारीसाधन गुड्ने र तलबाट वन्यजन्तु आवतजावत गर्न मिल्ने गरी निर्माण गरिने छ । उनका अनुसार फ्लाइओभर ६ लेन (दुवैतर्फ ३-३ लेन) फराकिलो हुनेछ । जसमा बीचको ४ लेनमा सवारी साधन गुड्ने र दाँयाबाँया १-१ लेनमा पैदल यात्रु र साइकल लेन रहने छ ।

‘टिकौली जंगल क्षेत्रमा वन्यजन्तुलाई निकै जोखिम छ । त्यसलाई मध्येनजर गर्दै २ किमी लामो फ्लाइओभर निर्माण गर्ने डिजाइन बनाइएको छ,’ उनले भने, ‘फ्लाइओभर माथिबाट सवारीसाधन र वन्यजन्तु आउजाउ गर्ने छन् । यसले वन्यजन्तुको सुरक्षा गर्न सहयोग पुर्याउँछ ।’

२ किमी लामो फ्लाइओभरमा कुल ६७ वटा पिलर रहने छन् । यसको लागत करिब ७ अर्ब रुपैयाँ रहेको छ । जसमा ३ अर्ब रुपैयाँ एडीबीले अनुदान दिनेछ भने ४ अर्ब नेपालले नै लगानी गर्नेछ ।


Back_to_top