काठमाडौं । युरोपियन ब्राण्ड स्टेलान्टीसको प्रबेशसँगै चिनियाँ स्टार्टअप कम्पनी लिपमोटर निकै बलियो भएको छ । नयाँ मोडल उत्पादनदेखि मासिक होलसेल बिक्रीमै चीनको तेस्रो न्यू इनर्जी भेहिकल ब्राण्ड बन्न सफल हुने देखिएको हो ।
पछिल्ला दुई महिनालाई आधार मान्ने हो भने लीपमोटर बीवाइडी र जिलीपछि सबैभन्दा धेरै न्यू इनर्जी भेहिकल बिक्री गर्ने ब्राण्ड बनेको हो । यस्तोमा लीपमोटरले ग्वाङ्झाओ अटो शो २०२५ मार्फत नयाँ एसयूभी बजारमा उतारेको छ ।

लीपमोटरले नयाँ एसयूभी ए-१० लाई अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री गर्नेछ । नयाँ एसयूभी मूल्यका हिसावले पनि आकर्षक हुने सहजै अनुमान लगाउन सकिन्छ । यसअघि बजारमा आएको बी-१० र सी-१० को तुलनामा सानो साइज, आकर्षक र मोर्डन डिजाइनमा देखिएको ए-१० चीनमा केबल ११ हजार २५० अमेरिकी डलर मूल्य कायम भएको हो ।
मिड साइज एसयूभी सेग्मेन्टमा लीपमोटरसँग ए-१०, बी-१० र सी-१० एसयूभी उपलब्ध हुनेछ । यी तीन मध्ये बी-१० र सी-१० अहिले नै नेपाली बजारमा किन्न पाइन्छ । लीपमोटरको ए-१० एसयूभी पनि आगामी २०२६ को मध्येसम्ममा नेपालमा उपलब्ध हुनेछ । नेपाली बजारमा लीपमोटरका उत्पादन साँग्रिला मोटरले गर्दै आएको छ ।
यस्तो छ ए-१० एसयूभी
लीपमोटरले अहिलेसम्म ए-१० एसयूभीको बाहिरी डिजाइन बाहेक अन्य कुराको जानकारी नै दिएको छैन । कम्पनीका अनुसार ए-१० एसयूभीको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम रहने छ ।

ए-१० एसयूभीको अगाडि क्लोज अफ ग्रिल, ट्रापेज सेपको एयरइनटेक र ओभल सेपको हेडलाइट छ । छतमा लाइडार सेन्सर, व्ल्याक कलरको डी पिल्लर, युनिक डिजाइनको डोर ह्याण्डल दिइएको छ । नयाँ एसयूभीको अगाडि लेफ्ट साइडमा चार्जिङ पोर्ट, १८ इन्चको ह्वील तथा रेक्ट्रयाङ्गुलर आकारमा टेललाइट प्रयोग भएको छ । कम्पनीले फ्रन्ट फेण्डरमा ब्लाइन्ड स्पर्ट क्यामेरा प्रयोग गरेको छ ।
ब्याट्री र मोटर लगायतका विषयमा अहिले धेरै कुरा बाहिर आएको छैन । सम्भवत ४० देखि ५० किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा ए-१० बजारमा उपलब्ध हुनेछ ।

