गुलजार बन्दै दुईपाँग्रे बजार, ४ महिनामै १ लाख बढी मोटरसाइकल र स्कुटर आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा दुईपाँग्रे सवारी साधन बजार गुलजार बन्दै गएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको ४ महिना (साउन-कात्तिक)को तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आवको ४ महिनामा १ लाख ६ हजार ७६८ युनिट मोटरसाइकल र स्कुटर आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको हो ।

चालु वर्षमा गत वर्षको सोही अवधिको तुलनामा दुईपाँग्रे सवारी आयात २५.६८ प्रतिशत अर्थात् २१ हजार ८०० युनिट धेरै हो ।

गत वर्ष ४ महिनामा ८४ हजार ८९० मोटरसाइकल र स्कुटर आयात भएको थियो । चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा क्रमशः चलायमान हुँदा दुईपाँग्रे सवारी आयातमा पनि वृद्धि भएको हो ।

विभागका अनुसार चालु आवमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८१ प्रतिशत अनएसेम्बल रहेका छन् । ४ महिनामा ८६ हजार ३३९ युनिट अन एसेम्बल दुईपाँग्रे सवारी आयात भएको हो ।

हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल/स्कुटर नेपालमै एसेम्बल हुन्छन् ।

४ महिनामा २० हजार ३५१ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्यांक छ ।


Back_to_top