काठमाडौं । सीजी मोटोकर्पले मारुती सुजुकीको नयाँ एसयूभी भिक्टोरिस बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले आगामी माघ अन्तिमदेखि भिक्टोरिस एसयूभी बिक्री थाल्ने योजना बनाएको हो ।
हुन्डाईको मार्केट लिडर एसयूभी क्रेटासँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको भिक्टोरिस ४.३ मिटर लामो छ । झट्ट हेर्दा ग्राण्ड भिटारासँग मिल्दोजुल्दो देखिने भिक्टोरिसमा सबै लाइट एलईडी उपलब्ध छन् ।
सुजुकीले फिचर लोडेड एसयूभीको रूपमा भिक्टोरिसलाई बजारमा ल्याउन लागेको हो । बढ्दो फिचर प्रतिको लगाव नेपाली उपभोक्तामा बढ्दै गएको समयमा आउन लागेको भिक्टोरिसले उपभोक्ता तान्ने कम्पनीले अनुमान गरेको छ ।
‘भारतमा निकै राम्रो रिभ्यू पाएका छौं । यहाँ पनि कहिले ल्याउँनु हुन्छ भन्नेर जिज्ञासा राख्नेहरू बढ्दैछन् । अहिले मूल्यको ‘वर्क आउट’ हुँदैछ । चाँडै सबैकुरा बाहिर ल्याउँछौं,’ सीजी मोटोकर्प स्रोतले भन्यो ।

कम्पनीले मूल्यको बारेमा वर्क आउट हुँदैछ भने पनि यसको मूल्य भेरियन्ट अनुसार ५२ लाखदेखि ७५ लाख रुपैयाँसम्म कायम भएर आउने हाम्रो अनुमान छ ।
भारतमा सुजुकीले उत्पादन गरेको भिक्टोरिस एसयूभीको टप भेरियन्टमा लेभल २ एडास फिचर दिएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्लेको कम्बिनेसन ड्यासबोर्डमा उत्कृष्ट छ ।
एसयूभीलाई टेक फिचर र सुरक्षाको लागि अब्बल बनाउन वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्याग जस्ता फिचर दिइएको छ ।

सुजुकीले यसलाई दुई इन्जिन अप्सनमा ल्याएको छ । जसमा १.५ लिटर पेट्रोल र १.५ लिटर हाइब्रिड पेट्रोल इन्जिन उपलब्ध छ ।
कम्पनीले ग्राण्ड भिटारामा जस्तो १.५ लिटर हाइब्रिड इन्जिनको पनि यसमा प्रयोग गरेको छ । उक्त हाइब्रिड इन्जिनले ११६ बीएचपी पावर र १४१ एनएम टर्क प्रदान गर्छ । ई-सीभीटी गियरबक्स रहने भएको कारण कम्पनीका अनुसार यसले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज दिन्छ ।
मारुती सुजुकी भिक्टोरिसमा प्रयोग भएको रेगुलर १.५ लिटर इन्जिन ब्रेजाबाट लिइएको हो । यसले १०३ ब्रेक हर्स पावर र १३९ एनएम टर्क उत्पादन गर्छ । उक्त इन्जिनसँग ५ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स प्रयोग भएको छ । एआरएआई परीक्षणमा यसको माइलेज भेरियन्ट अनुसार २०.६ देखि २१.१ किलोमिटर प्रतिलिटर रहेको छ ।


