मध्यपहाडी लोकमार्ग : तेस्रोपटक म्याद थपपछि पोखरा खण्डको काम अन्तिम चरणमा

काठमाडौं । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत पोखरा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।

पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको हो ।

यस खण्डको मुख्य काम लगभग सकिएको छ । अब सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनीयर किरण सुवेदीले यस खण्डको ९० प्रतिशत काम सम्पन्न भएको बताए । अब सडकमा रेलिङ राख्ने, रोड सेफ्टी, रङरोगन लगायत काम मात्रै बाँकी रहेको उनले बताए ।

‘हरिचोक-याम्दी खण्डको मुख्य काम सकिएको छ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौं,’ उनले भने । यो सडक नालासहित २१ मिटर फराकिलो रहेको छ ।

विसं २०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो। मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग २ वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो। तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो।

तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो। यस खण्डको तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको छ ।

मध्यपहाडीको हरिचोक-याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै पोखरा हुँदै पर्वत, बागलुङ, रुकुम पूर्वलगायतका जिल्लामा आवतजावत गर्न सहज भएको छ ।

पाँचथरबाट सुरू हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ ।


Back_to_top