काठमाडौं । जापनको सोनी ग्रुप कर्पोरेशन र होण्डा मोटर कम्पनीले आगामी इलेक्ट्रीक भेहिकल विकासका लागि रणनीतिक साझेदारी गरेका छन् ।
जापानका यी दुई मल्टीनेशनल समूहले ब्याट्री पावर इलेक्ट्रीक भेहिकल उत्पादनका लागि ज्वाइन्ट भेन्चरमा नयाँ कम्पनी स्थापना गरेका हुन् । प्राप्त जानकारीका अनुसार यसै वर्षको अन्त्यसम्ममा यो नयाँ कम्पनीले काम सुरू गरिसक्नेछ ।

यी दुई कम्पनीको बीचमा साझेदारी हुनुको मुख्य कारण होण्डाको मोटर उत्पादनमा रहेको एक्सपर्टीज र सोनीको टेक्नलोजीका क्षेत्रमा रहेको एक्सपर्टीजलाई एकै स्थानमा ल्याई नयाँ जेनेरेशनको वातावरणमैत्री उत्कृष्ट ईभी निर्माण गर्नु रहेको हो ।
अब नयाँ कम्पनीले प्लानिङ, डिजाइनिङ, डेभलपमेन्ट र सेल्स स्ट्याटिजी फर्मुलेसनको सम्पूर्ण कार्य गर्छ । तर, सुरूआती उत्पादनको कार्य भने होण्डाको फ्याक्ट्रीमै हुनेछ । सोनीले मोबिलिटी सर्भीस प्ल्याटफर्ममा कार्य गरिरहेको छ ।

सोनीले सन् २०२२ को कन्जुमर इलेक्ट्रीक शोमा आफ्नो भिजन एस कन्सेप्टको प्रदर्शन गरिसकेको छ । जुन अब नयाँ जेभीलाई हस्तान्तरण गर्नेछ । यो जोयन्ट भेन्चरको पहिलो उत्पादन भने सन् २०२५ बाट मात्र बजारमा आउनेछ ।

