सब फोर मिटर एसयूभीमा ६ मोडल, कसको आयात कति ?

काठमाडौं । नेपाली बजारमा सब फोर मिटर एसयूभी बिक्री गर्दै आएका मारुती सुजुकी, हुन्डाई, किया, महिन्द्रा, टाटा र निसानले ठिकठाक युनिट आयात गरेको देखिन्छ ।

सन् २०२५ मा यी ६ ब्राण्डले आफ्नो सब फोर मिटर एसयूभीको आयात राम्रै संख्यामा गरेका छन् । यी ६ ब्राण्डले १ हजार ८१३ युनिट सब फोर मिटर एसयूभी नेपाली बजारमा ल्याएका छन् ।

एक वर्षको आयात तथ्यांक अनुसार सीजी मोटोकर्पले ब्रेजा एसयूभी सबैभन्दा धेरै ल्याएको छ । कम्पनीले माइल्ड हाइब्रिड टेक्नोलोजीमा आधारित ब्रेजा ४२० युनिट आयात गरेको छ । जबकी, नेचुरल्ली एस्पिरेटेड इन्जिनमा भने १४२ युनिट मात्रै ब्रेजा आएको छ । यी दुवै मिलाउँदा एक वर्षमा ५६२ युनिट ब्रेजा सन् २०२५ मा नेपाल आएको देखिन्छ ।

दोस्रो धेरै आयात किया सोनेट भएको छ । सब फोर मिटर सेग्मेन्टमा आफ्नो फरक डिजाइनको बलमा सोनेट पनि स्थापित मोडल हो । कियाले एक वर्षको अवधिमा ४१४ युनिट सोनेट ल्याएको देखिन्छ ।

नेपालमै एसेम्बल भएको हुन्डाई भेन्यू पनि निकै आकर्षक मोडल मानिन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको भेन्यू नेपालमै बनेसँगै मूल्य पनि आकर्षक भएको थियो । सन् २०२५ मा ४०३ युनिट भेन्यू आयात भएको छ ।

निसान म्याग्नाइटको फेसलिफ्ट मोडल आएसँगै बिक्री पनि बढेको हो । पायोनियर मोटोकर्पले बिक्री गर्ने म्याग्नाइट एसयूभी गत वर्ष २६४ युनिट आयात भएको देखिन्छ ।

सिप्रदी ट्रेडिङले कुनै समयको आफ्नो ‘हिट प्रोडक्ट’ नेक्सन ईभी र पेट्रोल दुवैमा आयात गरेको देखिन्छ । पेट्रोलियम पदार्थबाट चल्ने नेक्सन केबल ५ युनिट आयात भएको छ । तर, विद्युतीय नेक्सन के थ्री भने १६४ युनिट आयात भएको छ । दुवै मिलाउँदा एक वर्षमा १६९ युनिट आयात भएको देखिन्छ ।

सबैभन्दा कम महिन्द्राको थ्रीएक्सओ आयात भएको छ । कम्पनीले यो एसयूभीलाई सन् २०२५ को अन्तिममा मात्रै बिक्रीको लागि उपलब्ध गराएको हो । डिसेम्बर अन्तिमसम्म केबल ७ युनिट थ्रीएक्सओ आयात भएको देखिन्छ ।


Back_to_top