साना एसयूभी भारतमा गुल्जार, नेपालमा छैनन् ग्राहक

काठमाडौं । सब फोर मिटर एसयूभी सेग्मेन्ट भारतमा तिब्र बिक्री विस्तार भइरहेको छ । यो सेग्मेन्टमा एक दर्जन बढी मोडलहरु भारतमा बिक्री भइरहेका छन् ।

विशेषगरी पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री भारतमा तिब्र गतिमा विस्तार भइरहेको छ । अघिल्लो वर्षको तुलनामा हरेक महिना भारतमा बिक्री बढेको तथ्यांक सार्वजनिक हुँदै आएका छन् ।

यो सेग्मेन्टम टाटा, महिन्द्रा, हुन्डाई, निसान, रेनो र कियाले आफ्ना उत्पादन बिक्री गर्दै आएका छन् । त्यसैपनि तिब्र बिस्तार भइरहेको साना एसयूभीको बजार आउँदै गरेको चाडपर्वको कारण भारतमा गुल्जार बनेको छ । तर, नेपालमा भने यही सेग्मेन्टमा उपलब्ध कारले ग्राहक नै पाउन सकेका छैनन् ।

नेपालमा कारको बजार नै निकै खुम्चेको र नयाँमा पनि विद्युतीय कार खोज्ने धेरै हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको बजारमा ब्यापक गिरावट आएको हो ।

भारतमा सेप्टेम्बरको बिक्री

भारत विश्वकै तेस्रो ठूलो कार बजार हो भने मूल्यको हिसावले बजेट कार धेरै खोजिने देश हो । त्यसैले यहाँ धेरै बिक्री हुनेको सूचीमा सब फोर मिटर एसयूभी पर्छन् ।

सेप्टेम्बर २०२३ मा सबैभन्दा धेरै यूनिट टाटा नेक्सन बिक्री भएको छ । नेक्सनको इलेक्ट्रीक र पेट्रोलियम पदार्थबाट चल्ने मिलाएर १५ हजार ३२५ यूनिट होलसेल बिक्री भएको हो ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको ब्रेजा १५ हजार १ यूनिट, तेस्रो स्थानमा रहेको टाटा पन्च १३ हजार ३६ यूनिट र चौथो स्थानमा रहेको हुन्डाई भेन्यू १२ हजार २०४ यूनिट बिक्री भएको तथ्यांक सार्वजनिक भएको छ ।

सूचीको पाँचौ स्थानमा मारुती फ्रोङ्क्स ११ हजार ४५५ यूनिट सहित बलियो पकड बनाएर बसेको छ । त्यसपछि महिन्द्रा बोलेरो ९ हजार ५१९ यूनिट, हुन्डाई एक्सटर ८ हजार ६४७ यूनिट र महिन्द्रा थार ५ हजार ४१७ यूनिट होलसेल बिक्री भएको हो ।

किया सोनेट ४ हजार ९८४ यूनिट, महिन्द्रा ‘एक्सयूभी ३००’ ४ हजार ९६१, सुजुकी जिम्नी २ हजार ६५१ यूनिट, निसान म्याग्नाइट २ हजार ४५४ यूनिट र रेनो काइगर ९८० यूनिट बिक्री भएको छ ।

भारतमा सन् २०२२ सेप्टेम्बरमा कुल ८६ हजार ५७९ यूनिट सब फोर मिटर एसयूभी बिक्री भएकोमा गत सेप्टेम्बरमा १ लाख ६ हजार ६३४ यूनिट बिक्री भएको छ । अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा यो सेग्मेन्टको बिक्री २३.१६ प्रतिशतले बढेको हो ।


Back_to_top