काठमाडौं । लकडाउन कै बीच मारुती सुजुकीले भारतीय बजारमा ल्याएको दुई नयाँ कारको बुकिङ निकै आक्रमक रहेको कम्पनीले जनाएको छ । लकडाउन सुरु हुनु केही दिनअघि बजारमा आएको भिटारा ब्रेजा र लकडाउनकै बीचमा बजारमा आएको इग्नीस फेसलिफ्टको बुकिङ निकै राम्रो भएको हो ।
मारुती सुजुकीले इग्नीसको बुकिङ ५० हजारभन्दा बढी रहेको जनाएको छ भने पेट्रोल इन्जिनयुक्त भिटार ब्रेजाको बुकिङ ७५ हजार रहेको जनाइएको छ । यी दुबै मोडललाई मारुती सुजुकीले अटो एक्स्पो २०२० मा शोकेस गरेको थियो ।
कम्पनीले इग्नीस फेसलिफ्टलाई अब पेट्रोल इन्जिनमा मात्र बिक्री गर्ने छ भने यसको एक्सटेरियरमा फगल्याम्प केस र भर्टिकल रिफ्लेक्टरमा परिमार्जन गरेको छ । साथै यसको ग्राउण्ड क्लियरेन्स पहिलेको तुलनामा बढाइएको छ । फेसलिफ्ट मोडलमा रियर स्पोइलर र रुफ रेल थप गरिएको छ ।
कम्पनीले यसमा भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको १.२ लिटर फोर सिलिण्डर इन्जिनले ८२ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्ने छ । साथै नयाँ इग्नीसमा ७ इन्चको स्मार्ट प्ले स्टुडियो, भ्वाइस कमाण्ड रिकग्नीसन जस्ता सुविधा उपलब्ध रहेको छ ।
त्यसैगरि मारुती सुजुकीको चर्चित सब फोर मिटर एसयूभी ब्रेजा फेब्रुअरी अन्तिममा बजारमा आएको हो । कम्पनीले पुरानो डिजेल इन्जिनलाई हटाएर नयाँ पेट्रोल इन्जिन दिएको हो ।
स्मार्ट हाइब्रिड टेक्नोलोजीसहित आएको ब्रेजा गत फेब्रुअरी २४ बाट भारतमा बिक्री सुरु भएको थियो । यी दुबै कार लकडाउन सकिएपछि नेपाली बजारमा आउने छन् ।

