काठमाडौं । मारुती सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले विगत ५ वर्षमा ७ हजार ९३८ युनिट कार बिक्री गरेको देखिन्छ । कम्पनीले सन् २०२१ जनवरीदेखि २०२५ डिसेम्बर अन्तिमसम्ममा उक्त संख्यामा कार बिक्री गरेको हो ।
भारतको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले उत्पादन गरेका बजेट कार नेपालमा निकै सफल थिए । विद्युतीय कारको प्रभाव विस्तारसँगै सुजुकीले बिक्री गुमाउन थालेको देखिन्छ ।
सीजी मोटोकर्पले नेपाल भित्र बनाएको बलियो नेटवर्क, सस्तो सर्भिस सेवा र कम मूल्यमा गुणस्तरीय पार्टस उपलब्ध गराएर उपभोक्ताको मन जित्दै आएको भए पनि ईभीको प्रभावसँगै बिक्रीमा उच्च गिरावट आएको थियो ।
सीजीले सन् २०२१ मा बजेट कारको रूपमा परिचित सेलेरियो, अल्टो, वागेनआर, स्वीफ्ट, एसप्रेसो, इग्निस, बलेनो जस्ता मोडल ठूलो संख्यामा बिक्री गरेको थियो । साथै, ब्रेजा कम्पनीको सदाबहार बलियो मोडल बन्दै आएको छ ।
सबै मोडल मिलाएर सन् २०२१ मा ३ हजार ९९० युनिट कार बिक्री गरेको देखिन्छ । त्यसमा ब्रेजाको संख्या २ हजार ७९ युनिट थियो ।
सन् २०२२ मा एकैपटक ३ हजार ९९० युनिटबाट बिक्री घटेर १ हजार २५९ युनिटमा झर्यो । समग्र सबै सेग्मेन्टको बिक्री गुमाएको कारण सुजुकीका कारमा उच्च गिरावट देखिएको थियो ।
त्यसपछि पनि निरन्तर बिक्री घट्दै गएको देखिन्छ । सन् २०२३ मा बजारको साइज बढेपनि सुजुकीले बिक्री बढाउन सकेन । कम्पनीले २०२३ मा केबल ९१४ युनिट कार बिक्री गर्न सफल भएको थियो ।
सन् २०२४ र २०२५ मा पनि कम्पनीको बिक्रीमा ठूलो बढोत्तरी देखिँदैन । कम्पनीले सन् २०२४ मा ८३४ युनिट र २०२५ मा ९४१ युनिट कार आयात गरेको भन्सार तथ्यांकमा देखिन्छ ।


