नाडा अटो शोमा सुजुकी र टाटा बीच रोचक प्रतिस्पर्धा देख्न पाइने

काठमाडौं । चीन बाहेकबाट आउने विद्युतीय कारमा टाटा मोटर्सका उत्पादन नेपालमा सर्वाधिक सफल छन् । टाटाका आधा दर्जन ईभी मोडल पुग्नै लाग्दा सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी प्रदर्शनीमा रहने भएको हो ।

भारतमा सुजुकीका उत्पादन टाटाको तुलनामा धेरै बिक्री हुन्छन् । तर, विद्युतीय कारमा सन् २०२० देखिनै केन्द्रित टाटाले एकपछि अर्को नयाँ मोडल बजारमा उतारिरहेको छ ।

टाटाको नयाँ ह्यारीयर ईभी र सुजुकीको ई-भिटार दुई विद्युतीय एसयूभी बजारमा आउँदै छन् । आगामी मंगलबारदेखि सुरू हुने नाडा अटो शोमा दुवै ब्राण्डले नयाँ एसयूभी देखाउने छन् ।

सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले अटो शोमा राख्ने ई-भिटारा केही मिडियाकर्मीहरूको बीचमा देखाइसकेको छ । तर, यसलाई ठूलो संख्यामा अवलोकनकर्ताले गर्न सक्नेगरी नाडा अटो शोमा राखिने छ ।

भदौ ३ गतेदेखि ८ गतेसम्म चल्ने अटो शोमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ल्याउने अनुमान गरिएको ह्यारीयर ईभीको विषयमा जानकारी दिएको छैन ।

के छ ई-भिटारामा खास ?

सुजुकी ई-भिटारा कम्पनीको पहिलो एसयूभी हो । फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्रीको साथ आउन लागेको ई-भिटारा दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसमा रहेको ४९ र ६१ किलोवाट आवरको ब्याट्रीले अधिकतम ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

तर, ६१ किलोवाट आवरको ब्याट्री भएको ई-भिटारा साइजको एसयूभीले ४२० किलोमिटर माथि रेन्ज नदिन सक्छ । बीवाइडी एटोथ्रीमा रहेको ब्याट्री भएको कारण त्योभन्दा बढी दिँदैन ।

यसमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर यसमा पाउन सकिन्छ । जापानी निर्माताले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभीमा इको, नर्मल र स्पोट्स ड्राइभ मोडसँगै स्नो मोड र वान पेडल ड्राइभिङ मोड पनि दिएको छ ।

कम्प्याक्ट मिडसाइज सेग्मेन्टको यो एसयूभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम तथा २७०० एमएमको ह्वीलबेस रहेको छ । ग्राउण्ड क्लियरेन्स भने १८० एमएम छ ।

ह्यारीय ईभी किन छ चर्चामा ?

टाटाले ह्यारीयर ईभीलाई चर्चामा ल्याएको यसको अफरोड क्षमताले हो । इलाफेन्ट रकमा चढेसँगै यसको चर्चा भारतमा व्यापक भएको थियो । टाटाले भारतमा ह्यारीयरमा ६५ र ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीसँगै १५ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिएको छ । नेपालमा यही वारेन्टी आउने वा नआउने विषयमा जानकारी बाहिर आएको छैन ।


टाटा मोटर्सले ह्यारीयर ईभीको रेन्ज ६२७ किलोमिटरसम्म हुने दाबी गरे पनि त्यो वास्तविक सडकमा चलाउँदा मेल नखान सक्छ । टाटा ह्यारीयरमा रियर माउण्टेड १७५ किलोवाट र अलह्वील ड्राइभ मोडलमा २९१ किलोवाटको मोटर रहेको छ । यसले ५०४ न्युटन मिटरसम्म टर्क जेनेरेट गर्छ ।

अल ह्वील ड्राइभ इलेक्ट्रीक ह्यारीयरमा अल्ट्रा ग्लाइड रियर सस्पेन्सन सेटअप र फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पर छ । ह्यारीयर ईभीमा नर्मल, स्नो/ग्रास, मड/रट्स, स्याण्ड, रक क्रल र कस्टम गरि ६ फरक ड्राइभिङ मोड पाउन सकिन्छ ।

निष्कर्ष

सुजुकी र टाटा दुवैले भारतमा उत्पादन भएका विद्युतीय गाडी अटो शोमा देखाउन लागेका हुन् । चिनियाँ ईभीको अर्को प्रतिस्पर्धा भइरहेको बजारमा यी दुवै ब्राण्डले राख्ने मूल्यले गाडीको बिक्रीसँग प्रत्यक्ष सरोकार राख्छ ।

चिनियाँ ईभीको भेलमा यी दुई ब्राण्डले ल्याउने ईभीले कस्तो व्यापार गर्ला, त्यो हेर्न भने बाँकी नै छ । नाडा अटो शोमा कसको स्टलमा धेरै भीड जम्मा हुने हो, त्यो चाहिँ रोचक हुनेछ ।


Back_to_top