काठमाडौं । ओला इलेक्ट्रीकले भारतमा ओला एस १ सिरिज अन्तर्गत नयाँ स्कुटर सार्वजनिक गरेको छ ।
भारतीय दुई पाङग्रे इलेक्ट्रीक निर्माता ओलाले भारतीय बजारमा आफ्नो सबैभन्दा पावरफुल एस १ प्रो स्पोर्ट स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले स्कुटर सेग्मेन्टमै पहिलो पटक एडास फिचर दिएर नयाँ एस १ प्रो स्पोर्ट स्कुटर बजारमा ल्याएको हो । एडास फिचर प्रयोग भएको यो पहिलो स्कुटर हो ।
ओलाको नयाँ एस १ प्रो स्पोर्ट इलेक्ट्रीक स्कुटरमा एडास फिचरका साथ अन्य धेरै उत्कृष्ट सुविधाहरू दिएर स्पोर्टी डिजाइनमा बजारमा उतारेको हो ।
स्ट्रिट स्टाइल फेयरिङ प्रयोग गरेर निर्माण भएको एस १ प्रो स्पोर्ट स्कुटरको तौल हलुका बनाउनका लागि कम्पनीले कार्बन फाइबरको प्रयोग गरेको छ ।
कम्पनीले यसमा ५.२ किलोवाट आवरको ब्याट्रीप्याक र १६ किलोवाटको फेराइट म्याग्नेट इलेक्ट्रीक मोटर दिएको छ । यसले ० देखि ४० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्रै २ सेकेन्डमा पूरा गर्नेछ । यसको टप स्पीड १५२ किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटरले एक पटकको फुलचार्जमा ३२० किलोमिटरसम्मको रेन्ज दिने आइडीसीले प्रमाण गरेको छ ।
नयाँ स्टाइल डिजाइनमा आएको यस स्कुटरमा सार्प बडि डिजाइन, स्पोर्ट ट्युन टेलिस्कोपिक फर्क र प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्क ब्रेक, अलोय ह्वील, ३४ लिटरको अन्डर सिट स्टोरेज, पूरा एलईडी लाइट, डीआरएल, पूरा डिजिटल कन्सोल, एडास फिचर, छोटो आकारको विन्ड स्क्रीन, कार्बन फाइबर फ्रन्ट फेन्डर, ग्रयाब रेल र नयाँ सिट दिइएको छ ।
ओला एस १ प्रो स्पोर्ट स्कुटर भारतीय बजारमा १ लाख ५० हजार रुपैयाँ (एक्स शोरुम) मूल्यमा सार्वजनिक गरिएको हो। तर यसको डेलिभरी भने जनवरी २०२६ मा मात्रै सुरू हुने कम्पनीले जानकारी दिएको छ। हाल यो स्कुटर ९९९ रुपैयाँमा बुकिङ गर्न सकिन्छ।

