हराएका ४१ मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी,लैनचौर,चापागाउँ नयाँबानेश्वर, हात्तिसार, एयरपोर्ट, सिफल, पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार,नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका ४१ वटा सहित ५२ वटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २ वटा दुईपाँग्रे सवारी साधन सहित चोरीमा संलग्न ३ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन जिम्मा लिएपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा ४१७ वटा र ०८१/८२ मा ५०३ वटा दुईपाँग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले अनुरोध समेत गरेका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


Back_to_top