काठमाडौं । भारतमा कार उत्पादन गर्दै आएका मारुती सुजुकी, हुन्डाई र टाटाको लागि नेपाली बजार चुनौतीसँगै अवसरको रूपमा हेर्न सकिन्छ । चिनियाँ उत्पादनको वर्चश्व रहेको ईभी बजारमा आफ्नो पहिलो मोडल ल्याएर सुजुकीले भविष्य खोज्ने रणनीति बनाएको छ ।
सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई भिटारा एसयूभी अबको केही महिना भित्रै बिक्री थाल्ने भएको छ । कम्पनीले ई भिटारा नाडा अटो शो २०२५ मै ल्याएर देखाएको भए पनि उत्पादनमा केही ढिलाइ भएको भन्दै अहिलेसम्म भारतमा पनि बिक्री सुरू भएको छैन ।
सन् २०२२ बाट अप्रत्यासित रूपमा ईभीको माग उच्च हुँदा नेपालमा सर्वाधिक कार बिक्री गर्ने मध्येको एक सुजुकी पछाडि परेको थियो । त्यसयता निरन्तर बिक्री घट्दै गएको कम्पनीले ई भिटाराको सहयोगमा बिक्री ग्राफ माथि लाने योजना बनाइरहेको छ ।
करिब ४ वर्षदेखि ईभीको मात्रै चर्चा भएको बजारमा बल्ल सुजुकी प्रवेश गर्दैछ ।
हुन्डाईसँग अहिले पनि ३ मोडल इलेक्ट्रीकमा उपलब्ध छ । नेपालमा विद्युतीय एसयूभीको बजारलाई सुरूमा चलायमान बनाउने ब्राण्ड नै हुन्डाई हो । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सन् २०१८ मा आयोनिक र कोना ईभी ल्याएर इलेक्ट्रीक पावर देखाएको थियो ।

हुन्डाई कोना नेपालमा राम्रो संख्यामा बिक्री भएको मोडल हो । कोनापछि कम्पनीले आयोनिक फाइभ र अघिल्लो वर्ष क्रेटा ईभी ल्याएर बिक्री गर्दै आएको छ । हुन्डाईका ईभी चिनियाँ कारभन्दा मूल्यमा महँगो लाग्ने कारण धेरैको छनोटमा पर्न सकेको छैन ।
कम्पनीले भारतीय उपभोक्तालाई मध्यनजर गर्दै नयाँ मोडल ल्याउने तयारी गरेको छ । टाटा पन्च ईभीको सेग्मेन्टमा आउने नयाँ माइक्रो एसयूभी मूल्यको आधारमा आकर्षक हुने अनुमान गर्न सकिन्छ । कम्पनीले आगामी तिहारसम्ममा नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने अनुमान गरिएको छ । यसको मूल्य चिनियाँ कारसँग प्रतिस्पर्धामा खरो उत्रने गरी आउने बताइन्छ ।

टाटा मोटर्सका ईभीहरू नेपाली बजारमा निकै सफल मानिन्छन् । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सन् २०२१ देखि नै ईभी ल्याएर बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा ल्याएको अधिकांश मोडल सफल भएका छन् ।
नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी, पन्च ईभी जस्ता मोडल नेपाली उपभोक्ताले खुबै रुचाएका छन् । यस्तोमा टाटाले छिट्टै भारतमा बिक्री सुरू हुने सियरा ईभी नेपाल ल्याउने तयारी थालिसकेको छ । कम्पनीले ल्याउने सियरा ईभीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा रहेको बीवाइडी एटो थ्री, ओमोडा ई फाइभ, लीपमोटर बी १०, दीपल एस-०५ जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

