बंगलादेशका नयाँ मन्त्रीलाई टोयोटा ल्याण्ड क्रुजर र क्याम्री

काठमाडौंं । बंगलादेशमा नयाँ मन्त्रीहरूका लागि सरकारी अधिकारीहरूले ५० बढी कार तयार गरेर राखेका छन् ।

उनीहरूले नयाँ मन्त्रीहरूका लागि ड्राइभरसहित कारहरू सार्वजनिक प्रशासन मन्त्रालय अगाडि ल्याएर राखेका हुन् ।

बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का संसदीय दलका नेता तरिक रहमानले ४ बजे प्रधानमन्त्रीको सपथ लिनेछन् । लगत्तै मन्त्रीहरूको पनि सपथ हुने तय गरिएको छ ।

नयाँ मन्त्रीहरूलाई उपलब्ध गराइने ती कारहरू ४ बजेअघि नै संसद् भवनमा पुर्याउने अधिकारीहरूले बताएका छन् ।

सरकारी यातायात निर्देशनालयका यातायात आयुक्त मोहम्मद खैरुल कबीर मेननले मन्त्रिपरिषद् महाशाखाको निर्देशन अनुसार ६८ वटा सवारी साधन तयार राखिएको र ५० वटा पठाइसकिएको बताएका छन् । उनले आवश्यक परेमा थप उपलब्ध रहेको बताए।

नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले प्रयोग गर्ने सवारी मोनोग्राम र झण्डा स्ट्यान्डले सुसज्जित छन् ।

मन्त्रीहरूका लागि तयार पारिएका अधिकांश गाडी टोयोटाका ल्याण्ड क्रुजर र क्याम्री रहेका छन् । साथै, केही गाडी मित्सुबिशी ल्यान्सर रहेको बताइएको छ ।यद्यपि, ती गाडीहरू नयाँ नभई यसअघि सरकारी अधिकारीहरूले प्रयोग गर्दै आएको बताइएको छ ।

हालै भएको निर्वाचनमा बीएनपीले दुईतिहाई बहुमत पाएको थियो । उसले आज नयाँ सरकार बनाउन लागेको हो ।


Back_to_top