काठमाडौं । सामाजिक संजालमा एक कार चालकले बीच सडकमै पैदल यात्रीलाई पिट्दै गरेको भिडियो भाइरल बनेको छ ।
बा ३ च ११०३ नम्बरको हरियो रङको कारका चालकले पैदल यात्रीलाई मुक्का प्रहार गरेका हुन् । यो घटना कहिले र कहाँको भनेर खुलिसकेको छैन । तर, साझा यातायात नजिकै देखिएकाले काठमाडौं उपत्यकाकै रहेको अनुमान छ ।
भिडियोमा देखिए अनुसार कार चालक बीच सडकमै गाडी रोकेर बाहिर निस्कन्छन् । र, सडकको बीचमा रहेका एक वृद्ध पुरुषलाई सिधै मुक्का प्रहार गर्छन् । धकेल्छन् ।
लगत्तै गाडीबाट एक महिला समेत ओर्लिन्छिन् । र उनले ती वृद्धलाई औँला ठड्याउँदै ‘धेरै नबोल् है खालास् नि’ भन्दै हप्काएको सुनिन्छ । त्यसपछि कार चालकले फेरि वृद्धलाई झापड हान्छन् । असहाय जस्तो देखिने ती वृद्धले कुनै प्रतिकार गर्न सक्दैनन् ।
बीच सडकमै पैदल यात्रु पिटेको भिडियो भाइरल बनेपछि प्रहरीले कार चालकको खोजी गरेको छ । कार र चालकको पहिचानका लागि अनुसनधान अघि बढाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

