आयो केटीएम २५० एड्भेन्चरको नयाँ प्रतिस्पर्धी, यस्ता छन् भिन्नता

काठमाडौं । एड्भेन्चर सेग्मेन्टमा २५० सीसी सेग्मेन्टका मोटरसाइकल थपिदै गएका छन् । अहिले प्रिमियम ब्राण्डका २५० सीसी सेग्मेन्टमा केटीएम २५० निकै चल्तीको मोडल हो ।

बजारमा बलियो पकड बनाएको केटीएम २५० एड्भेन्चरलाई टक्कर दिन जापानी ब्राण्ड सुजुकीले इन्डियामा नयाँ मोडल बजारमा ल्याएको हो । भि-स्ट्रोम २५० नामबाट आएको नयाँ मोटरसाइकल मूल्यको हिसावले पनि केटीएम २५० को तुलनामा केही सस्तो छ ।

बढ्दो बजारमा केटीएमसँग प्रतिस्पर्धामा सुजुकी कसरी उत्रन्छ भन्ने अहिल्यै एकिन नभएपनि नेपाली बजारमा आएर भि-स्ट्रोम २५० ले राम्रै संख्यामा ब्यापार गर्ने अनुमान गर्न सकिन्छ । त्यसैले यी दुई मोडल बीच रहेका भिन्नता यस प्रकार छन् ।

डिजाइन

यी दुबै मोटरसाइकल एड्भेन्चर टुरर डिजाइनमा निर्माण गरिएका हुन् । अनरोड तथा अफरोड दुबै बाटोमा चलाउन सकिने भएको कारण रेगुलर मोडलको तुलनामा एड्भेन्चर मोडल महंगो हुने गर्छ ।

एड्भेन्चर टुरर डिजाइनमा भएका कारण यी दुबै मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स उच्च रहेको छ । दुबैको ह्यान्डल पनि अपराइट रहेको छ ।

इन्जिन

केटीएम २५० एड्भेन्चर २४८ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ बीएच पावर तथा ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

सुजुकी भि-स्ट्रोम २५० मा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनी ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

इन्धन क्षमता

यस्ता एड्भेन्चर टुरर मोटरसाइकलहरुमा इन्धन क्षमता कति छ भन्ने कुरमा महत्वपुर्ण हुन्छ । लामो यात्रा गर्न र अफरोड ट्रेलहरुमा चलाउन धेरै प्रयोग हुन्छ । यही कुरालाई मध्यनजर गर्दै केटीएमले १४.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ ।

त्यस्तै सुजुकीले १२ लिटरको क्षमताको इन्धन ट्याङ्क दिएको छ । केटीएमले प्रति लिटर ३५ किलोमिटर माइलेज दावी गरेको छ भने सुजुकीले ३८ किलोमिटर दावी गरेको छ ।

डाइमेन्सन

केटीएम २५० एड्भेन्चर मोटरसाइकलको कुल तौल १७७ केजी रहेको छ । यसको लम्वाई २१५४ एमएम, चौडाई ९०० एमएम, उचाई १२६३ एमएम रहेको छ । यो मोटरसाइकलको ह्वील वेस १४३० एमएम, ग्राउन्ड क्लियरेन्स २०० एमएम र सिट हाइट ८५५ एमएम रहेको छ ।

त्यस्तै सुजुकी भि-स्ट्रोम २५० को कुल तौल १६७ केजी रहेको छ । यसको लम्वाई २१८० एमएम, चौडाई ८८० एमएम, उचाई १३५५ एमएम रहेको छ । यो मोटरसाइकलको ह्वील वेस १४४० एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र सिट हाइट ८३५ एमएम छ ।

ह्वील/सस्पेन्सन/ब्रेक

यी दुबै मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील र दुबै चक्कामा डिस्क ब्रेक रहेको छ ।

केटीएम २५० एड्भेन्चरको अगाडि डब्ल्युपी एपेक्स ४३ एमएम ट्राभल यूएसडी फर्क र रियरमा एपेक्सकै मोनोशक सस्पेन्सन दिइएको छ । त्यस्तै भि-स्ट्रोम २५०को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ ।

अन्य फिचर

यी दुबै मोटरसाइकलमा सबै प्रकारका लाइटहरु एलइडी रहेको छ । त्यस्तै यसमा पुर्णत डिजिटल कन्सोल, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट भाइजर जस्ता फिचर छन् ।

मूल्य

केटीएम २५० एड्भेन्चरको मूल्य २ लाख ३५ हजार (एक्स सोरुम) भारतीय रुपैयाँ रहेको छ । त्यस्तै सुजुकी भि-स्ट्रोम २५० को मूल्य २ लाख १२ हजार (एक्स सोरुम) भारतीय रुपैयाँ रहेको छ ।

केटीएम २५० एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेको छ । हंशराज हुलासचन्दले विक्री गर्ने केटीएम २५० एड्भेन्चरको मूल्य ८ लाख १९ हजार रुपैयाँ रहेको छ ।

हालै मात्र भारतीय बजारमा सार्वजनिक भएको सुजुकी भि-स्ट्रोम २५० को नेपाल आउन केही समय लाग्नेछ । नेपाल आउँदा यसको मूल्य ८ लाखभन्दा कम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top