यी हुन् दुई अत्याधिक सफल ह्याचव्याक कार, तपाईको रोजाईमा कुन ?

काठमाडौं । सन् २०१२ पछि बजारमा टप प्रतिस्पर्धी मोडलको रुपमा स्थापना भएको मारुती सुजुकी स्वीफ्ट र हुन्डाई ग्रान्ड आई १० निकै चर्चित ह्याचव्याक कार हुन् । दुबैले भारतीय बजारको साथै नेपाली बजारमा पनि हजारौ ग्राहकको मन जित्न सफल भएका छन् ।

यी दुबै कार नेपाली बजारमा निकै राम्रो रिसेल मूल्य भएका कार हुन् भने दुबै कार नेपाली बजारमा कम्प्लेन बिना चलिरहेका मोडल हुन् । मारुती सुजुको उत्पादन नेपालमा सिजी मोटो कर्पले बिक्री वितरण गर्दै आएको छ भने हुन्डाईका उत्पादन लक्ष्मी इन्टरकनिटनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आएको छ ।

इन्जिनमा कस्तो फरक ?

दुबै कारमा ११९७ सीसी क्षमताको ४ सिलिन्डर युक्त इन्जिन दिइएको छ । ग्रान्ड आई १० मा हुन्डाईको चर्चित कपा भिटीभीटी पेट्रोल इन्जिन दिइएको छ भने मारुती सुजुकी स्वीफ्टमा पनि कम्पनीको भिटीभीटी इन्जिन नै दिइएको छ । दुबै गाडीको पावर ६००० आरपीएममा समान ८१ बीएच रहेको छ । साथै, दुबै कारमा प्रयोग भएको इन्जिनले समान ११३ एनएम टर्क प्रदान गर्छ । 

दुबै कार फ्रन्ट ह्वील ड्राइभ हुन् । दुबैमा ५ स्पीड म्यानुयल गियर बक्स दिइएको छ । हुन्डाई ग्रान्ड आई १० भने अटोमेटिक गियर बक्समा उपलब्ध रहेको छ । 

दुबै कारको माइलेजमा भने निकै अन्तर रहेको छ । एआरएआई सर्टिफिकेशन अनुसार सुजुकी स्वीफ्टले २२ किलोमिटर माइलेज दिन्छ भने हुन्डाई ग्रान्ड आई १० ले १७ किलोमिटर माइलेज प्रदान गर्नेछ । दुबै कारको टप स्पीड समान १६५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

डायमेन्सन

लम्बाई, चौडाई, उचाई र ह्वीलवेसमा ग्रान्ड आई १० भन्दा स्वीफ्ट ठूलो रहेको छ । स्वीफ्टको लम्बाई ३८४०, चौडाई १७३५ र उचाई १५३० एमएम रहेको छ भने ग्रान्ड आई १० को लम्बाई ३७६५, चौडाई १६६० र उचाई १५२० एमएम रहेको छ ।

स्वीफ्टको ह्वीलवेस २४५० एमएम रहेको छ भने ग्रान्ड आई १० को २४२५ एमएम रहेको छ । ग्राउन्ड क्लियरेन्समा ग्रान्ड आई १० केही अग्लो रहेको छ । यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने स्वीफ्टमा १६३ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । 

सुरक्षा फिचर

दुबै कारमा सिट बेल्ट, एबीएस, इबीडी, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक जस्ता फिचर रहेको छ भने स्वीफ्टमा ब्रेक एसिस्ट पनि रहेको छ । 

मूल्य 

मारुती सुजुकी स्वीफ्टको मूल्य २९ लाख ४९ हजार र ३२ लाख ४९ हजार रुपैयाँसम्मको दुई भेरियन्ट उपलब्ध रहेको छ । त्यसैगरी हुन्डाई ग्रान्ड आई १० नेपाली बजारमा तीन भेरियन्टमा बिक्री वितरण भइरहेको छ । यसको मूल्य २९ लाख ५६ हजार, ३१ लाख ९६ हजार र अटोमेटीकको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।


Back_to_top