चैत १८ देखि बन्द स्याफ्रुबेँसी-रसुवागढी सडक खुल्यो

काठमाडौं । काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो दुरीको स्याफ्रुबेँसी-रसुवागढी सडक खुलेको छ । सडक स्तरोन्नतिका लागि गत चैत १८ गतेदेखि बन्द सडक आजदेखि संचालनमा आएको हो ।

यसअघि आगामी वैशाख २ गतेसम्म बन्द रहने भनिएको थियो । तर, नेपाल-चीनमैत्री पुलको पुननिर्माण र भारवहन क्षमता घटाउँदा सामान आइपुग्न ढिलाइ भएकाले चाँडै सडक खुलाइएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार अब अर्को सूचना जारी नभएसम्म सडक खुला रहने छ । चीनबाट सामान आइनपुग्दा तोकिए अनुसार काम हुन नसकेको जनाइएको छ ।

स्याफ्रुबेँसी-रसुवागढीसम्म १७ किमी सडक चीन सरकारले अनुदानमा बनाइदिन लागेको हो । यसको ठेक्का चिनियाँ कम्पनी सिचाङ थियान्लुले साढे ६ अर्ब रुपैयाँमा पाएको छ ।

२०७६ असोजमा नेपाल र चीन सरकार बीच उक्त सडक निर्माण सम्बन्धी सम्झौता भएको थियो । चिनियाँ टोलि उक्त सडक विस्तारका लागि १ वर्ष अघि नै नेपाल आइसके पनि निकुन्जको जमिन प्रयोग गर्न र गिट्टी, बालुवा, ढुंगा निकाल्ने अनुमति नपाउँदा सडक विस्तारको काम सुरू गरेका थिएनन् ।

गत मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकले अस्थायी प्रयोजनका लागि लाङटाङ निकुन्ज क्षेत्रको २० हजार वर्गमिटर जमिन प्रयोग गर्न दिने र सडकको एलिजमेन्ट तथा नदी किनाराबाट उत्खनन गरिने ढुङ्गा, गिट्टी, बालुवामा लाग्ने दस्तुर छुट दिने निर्णय गरेसँगै चिनियाँ पक्षले सडक विस्तारको काम अघि बढाएको हो । गत पुसदेखि नै चिनियाँ पक्षले नदीबाट गिट्टी, बालुवा संकलन लगायत पूर्वतयारीका काम गरिरहेका थियो ।

यो सडक दुई लेन (८.५ मिटर फराकिलो) कालोपत्र गरिने छ । उक्त खण्डमा पर्ने पुलहरू यसअघि नै चीन सरकारले निर्माण सम्पन्न गरिसकेको छ ।

नेपाल-चीन बीच भएको सम्झौता अनुसार उक्त सडक निर्माण थालिएको ३९ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सडक निर्माण सम्पन्न भएपछि रसुवागढी-स्याफ्रुबेँसी सडकको यात्राअवधि करिब २० मिनेटमा छोटिने छ । अहिले १ घण्टा बढी लाग्दै आएको छ ।


Back_to_top