काठमाडौं । १२ वर्षदेखि अलपत्र चितवन-तनहुँ जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको रि-डिजाइन स्वीकृत भएको छ । निर्माण कम्पनील मृत संजीवनी निर्माण सेवाले पेश गरेको नयाँ डिजाइन सडक विभागले चैत १५ गते स्वीकृत गरेको हो ।
रि डिजाइन स्वीकृत भएसँगै सडक डिभिजन, दमौलीले निर्माण कम्पनीलाई १५ दिन भित्र काम अघि बढाउन निर्देशन समेत दिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्ती र पुलको डिजाइनमा देखिएको अन्यौलताका कारण पुल निर्माणले गति लिन सकेको थिएन ।
सुरुमा यो पुल आरसीसी आर्क डिजाइनमा बनाउने गरी ठेक्का लागेको थियो । तर, २०८० सालको असोजमा आएको भीषण बाढीले डिजाइनमा तोकिएको उचाइभन्दा माथिल्लो तह पार गरेपछि पुरानो ‘आर्क’ डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको थियो ।
त्यसपछि निर्माण कम्पनीले डिजाइन संशोधनका लागि प्रस्ताव गरेको थियो । सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी (इन्जिनियर) राजेन्द्र कार्कीका अनुसार अहिले पुलको डिजाइन र उचाइ दुवै संशोधन गरिएको हो ।
उनका अनुसार अब उक्त पुल स्टील ट्रस्ट डिजाइनमा बन्नेछ । यसको ‘वाटर वे हाइट’ पनि १२.५ मिटरबाट बढाएर १५ मिटर अग्लो बनाइएको उनले जानकारी दिए ।
‘सुरुमा आर्क डिजाइनमा बनाउने गरी पुलको ठेक्का लगाइएको थियो । तर, २०८० असोजमा आएको बाढीले पहिलाको स्टिमेटभन्दा माथिल्लो तह पार गरेपछि डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको थियो,’ उनले मेरोअटोसँग भने, ‘अहिले पुलको डिजाइन र उचाइ दुवै बढाइएको छ । अब स्टील ट्रस्ट डिजानइमा निर्माण हुनेछ । वाटर वे हाइट पनि १५ मिटर पुर्याइएको छ ।’
विभागबाट रिडिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीलाई काम अघि बढाउन पत्रचार गरिएको उनले बताए । उनका अनुसार हालसम्म उक्त पुल निर्माणको भौतिक प्रगति ३६ प्रतिशत रहेको छ । १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुलको हालसम्म पुलको दुवैतर्फ पिल्लर ठड्याउने काम सकिएको छ । अब पिलरको उचाइसमेत केही बढाएर त्यसमाथि स्टील ट्रस्ट राखिने उनको भनाइ छ ।
दमौली-चितवन जोड्ने छोटो दूरीको वैकल्पिक मार्गको रूपमा घुमाउने पुल निर्माण अघि बढाइएको थियो । यो पुल निर्माणको ठेक्का सम्झौता २०७० असार २८ गते भएको थियो । मृत संजीवनीले १० करोड २१ लाख ८६ हजार ५५१ रुपैयाँमा ठेक्का पाएको थियो ।
हालसम्म आयोजनको आठ पटक म्याद थपिसकिएको छ । अन्तिम पटक थपिएको म्याद २०८३ असार मसान्तसम्म रहेको छ ।
उक्त पुलको निर्माण सम्पन्न भएपछि चितवन-दमौलीको दुरी मुग्लिङ-नारायणगढ सडकभन्दा २३ किलोमिटर छोटिने छ । साथै, वर्षायाममा मुग्लिङ-नारायणगढ सडक पहिरोका कारण सडक बन्द हुँदा रोकिनुपर्ने बाध्यता हट्ने छ ।

