१००० सीसीको सबैभन्दा सस्तो मोटरसाइकल नेपालमा, के छ खास ?

काठमाडौं । वैद्य ग्रुपले बिहीबारदेखि नेपाली बजारमा मोर्बिडेली ब्राण्डका मोटरसाइकल बिक्री सुरु गरेको छ ।

कम्पनीले २५० सीसीदेखि १००० सीसीसम्मका ५ मोडलका मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेका सबै मोटरसाइकलहरू अहिले मूल्यका कारण चर्चामा छ । त्यसमा पनि १००० सीसीको मोटरसाइकलको निकै चर्चा भइरहेको छ ।

हाल नेपाल आउने अन्य ब्राण्डका १००० सीसीका मोटरसाइकलको मूल्य १ करोड रुपैयाँ हाराहारी रहेको छ । तर, मोर्बिडेलीले १००० सीसीको मोटरसाकल ४५ लाख रुपैयाँमै ल्याएपछि बजारमा चर्चा चुलिएको हो ।

कम्पनीले मोर्बिडेली टी १००२ भीएक्सको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो नेपाली बजारमा हालसम्म आएका १००० सीसी क्षमताका मोटरसाइकलमा सबैभन्दा कम हो ।

नेपालमा उपलब्ध १००० सीसीका एमभी अगष्टा ब्रुटाले १०० सिरिज र बीएसडब्लू एस १००० आरआर जस्ता मोटरसाइकलको मूल्य १ करोडभन्दा धेरै छ । नेपाल उपलब्ध ८०० सीसी क्षमताका अन्य मोटरसाइकलहरूको मूल्य नै ५० लाख हाराहारीमा रहेका छन् । यस्तोमा ४५ लाख मूल्यमै आएको मोर्बिडेली टी १००२ भीएक्सको मूल्यले चर्चा पाएको हो ।

यस्तो छ मोटरसाइकल

मोर्बिडेली टी १००२ भीएक्स प्रिमियम एड्भेन्चर मोटरसाइकल हो । यो मोटरसाइकलमा ९९७ सीसी भी ट्वीन ८ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८८.५ हर्षपावर र ८९ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लिपर क्लच उपलब्ध छ ।

यो मोटरसाइकलको फ्रन्टमा केवाइबीको ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फोर्क र रियरमा केवाइबी मल्टिलिंक मोनोशक सस्पेनस पाउन सकिन्छ ।

मोर्बिडेली टी १००२ भीएक्सको फ्रन्ट ह्वीलमा ३२० एमएम ट्वीन डिस्क र रियरमा २६० एमएम सिंगल डिस्कसहित बशको एबीएस सिस्टम उपलब्ध छ ।

यसको अगाडि १९ र पछाडि १७ इन्चको ट्युबलेस स्पोक ह्वील दिइएको छ । यो एड्भेन्चर टूरर मोटरसाइकलमा २० लिटरको इन्धन ट्याङ्क छ । यसको सिट हाइट ८२० एमएम मात्र छ ।

यो मोटरसाइकलमा ७ इन्च टीएफटी स्क्रीनका साथै, ब्लुटूथ कनेक्टिभिटी उपलब्ध छ । यसमा चार राइडिङ मोड रेन, स्ट्याण्डर्ड, स्पोर्टस् र अफरोड पाउन सकिन्छ । यसमा ट्रयाक्सन कन्ट्रोलका साथै क्रुज कन्ट्रोज जस्ता फिचर उपलब्ध छन् । यसमा हिटेड ग्रिप, हिटेड सिट, अल एलईडी सेटअप र एडजष्टेबल विन्ड स्क्रीन उपलब्ध छ ।

मोर्बिडेली इटालीको विश्व चर्चित ब्राण्ड हो । यसका मोटरसाइकल विशेष डिजाइन, शक्तिशाली इन्जिन र ऐतिहासिक रेसिङ विरासतका लागि प्रख्यात मानिन्छ ।


Back_to_top