काठमाडौं । टाटा मोटर्सले उत्पादन गरेको ह्यारीयर एसयूभी नेपाली बजारमा यही जेठ २५ गते सार्वजनिक गर्ने अनुमान गरिएको छ । तर टाटाले नेपालमा ह्यारीयरको नामबाट उक्त गाडी बिक्री नगर्ने भएकाे छ।
टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ह्यारीयरलाई नेपालमा के नाम राख्ने भन्ने छलफलकै क्रममा रहेको जनाएको छ । अाेमेगा प्लाटफर्ममा आधारित टाटाको पहिलो मोडल ह्यारीयर ल्यान्डरोभर एलआर–५५० बाट प्रेरित छ ।
टाटा ह्यारीयर डिजेल इन्जिनमा उपलब्ध छ । टाटामा प्रयोग गरिएको इन्जिनको नाम क्रियोटेक हो । यद्यपि, यो इन्जिन फियाटमा उपलब्ध २.० लिटर डिजेल इन्जिन नै हो । सोही इन्जिन जीप कम्पासमा पनि प्रयोग गरिएको छ ।
टाटा ह्यारीयरको इन्जिनले १३८ एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्छ । अन्य विभिन्न विशेषतायुक्त एसयूभी ल्यान्ड रोभरको प्लेटफर्ममा बनेकाले निक्कै बिलाशी हुने अनुमान गरिएको छ ।

