काठमाडौं । टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित लाइट कमर्सियल पीकअप ट्रक इन्ट्राको इलेक्ट्रीक मोडल भारतमा बिक्री थालेको छ । कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै इलेक्ट्रीक इन्ट्रा पीकअप बिक्री सुरू भएको जानकारी दिएको हो ।
भारतमा ११ लाख ९५ हजार भारु मूल्य तोकेर बिक्री सुरू भएको पीकअप ट्रक स्वरोजगार बन्नेहरूका लागि बहुउपयोगी हुने कम्पनीले जनाएको छ । नयाँ पीकअप ट्रक सार्वजनिक गर्दै टाटा मोटर्सका प्रबन्ध निर्देशक तथा सीईओ गिरिश वागले आफूहरू ग्रीन मोबिलिटीको लागि प्रतिबद्ध रहेको बताए । त्यसकै एक हिस्साको रूपमा इन्ट्रा ईभी बजारमा आएको उनले दाबी गरे ।
भारतका विभिन्न १० ठूला सहरमा एकसाथ इन्ट्रा ईभीको बिक्री सुरू भएको छ । नयाँ ईभीलाई कम्पनीले ‘कमाउनको लागि डिजाइन गरिएको, सहनको लागि बनेको’ संदेशसहित भारतमा बिक्री थालेको हो । यसअघि टाटाले एस पीकअप ट्रकलाई ईभीमा बिक्री गर्दै आएको थियो । टाटा एस ईभी नेपालमा पनि बिक्री हुँदै आएको छ ।
कम्पनीका अनुसार नयाँ इन्ट्रा ईभीले १७५० केजी लोड बोकेर हिँड्न सक्नेछ । यसको कार्गो स्पेस १० फिट २ इन्च लामो छ । खासगरी खाध्यान्न, ग्यास, पानी, डेरी उत्पादन, फलफूल तथा तरकारीहरू सहरी क्षेत्रमा डेलिभरी गर्न इन्ट्रा ईभी उपयोगी हुनेछ ।
टाटा मोटर्सले इन्ट्रा ईभीमा ७२ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसको पीकटर्क भने २३० न्युटन मिटर छ । कम्पनीले २८.२ किलोवाट आवर क्षमताको आईपी६७ रेटेड ब्याट्री प्रयोग गरेको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा २११ किलोमिटर रेन्ज दिनेछ । सीसीएस टु चार्जिङ पोर्ट रहेको इन्ट्रा ईभीलाई डीसी चार्जरको प्रयोग गरेर १० देखि ८० प्रतिशत चार्ज गर्न ५५ मिनेट लाग्नेछ ।
भारतीय बजारमा कम्पनीले ६ वर्ष वा २ लाख किलोमिटर जुन पहिला आउँछ, त्यो बराबरको ब्याट्रीमा वारेन्टी दिएको छ ।
नेपाली बजारमा पनि छिट्टै आउन सक्ने इलेक्ट्रीक इन्ट्रा पीकअप ट्रकको विषयमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कुनै जानकारी दिएको छैन । तर, नेपालमा बढ्दो ईभी क्रेज भएको कारण चाँडै इन्ट्रा ईभी हाम्रो बजारमा प्रवेश गर्ने अनुमान गर्न सकिन्छ ।

