काठमाडौं । नेपालमा बिक्री सुरू भएको दुई वर्षभन्दा कम समयमा करिब १५० युनिट ल्याण्ड क्रुजर २५० बिक्री भइसकेको छ । ठूला र महँगा गाडीको सूचीमा आउने भएर पनि यसको बिक्री संख्या निकै उत्कृष्ट मान्न सकिन्छ ।
युवा पुस्तादेखि पाको उमेर समूह तथा व्यवसायिक जीवनमा धेरै पैसा कमाउने मानिसले एलसी २५० लाई मन पराएका छन् । त्यसको हुनुमा बाहिरी बनोट र आरामदायी क्याबिनसँगै टोयोटाको सुरक्षा फिचर मुख्य कारण मान्न सकिन्छ ।
नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले ल्याण्ड क्रुजर २५० लाई दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । दुई भेरियन्ट बीचमा मूल्य भने ३८ लाख रुपैयाँ फरक छ ।
टप भेरियन्ट ल्याण्ड क्रुजर २५० भीएक्स (लग्जरी) को मूल्य ३ करोड ७० लाख रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ । अर्को भेरियन्ट ल्याण्ड क्रुजर २५० अलराउण्डरको मूल्य ३ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
विश्वसनीयता र टिकाउपना
टोयोटाको ल्याण्ड क्रुजर नाम नै विश्वसनीयताको पर्यावाची मानिन्छ । ७० वर्षभन्दा लामो समयदेखि ल्याण्ड क्रुजर नेम प्लेटमा टोयोटाले उत्कृष्ट उत्पादन बजारमा दिँदै आएको छ ।

जस्तोसुकै खराब बाटाहरूमा पनि बलियो प्रदर्शन गर्न सक्ने भएको कारण अमेरिकादेखि मिडिल इस्टसम्म ल्याण्ड क्रुजरको उच्च माग हुने गर्छ । एलसी २५० ‘ल्याडर फ्रेम चेसिस’मा बनेको एसयूभी हो । त्यसैले पनि यसको आयु निकै लामो हुने गर्छ ।
इन्जिन र पर्फमेन्स
ल्याण्ड क्रुजर एलसी २५० मा २.८ लिटर क्षमताको २७५५ सीसीको डिजेल इन्जिन उपलब्ध छ । यसमा रहेको फोर सिलिण्डर, इन लाइन टाइप, १६ भल्भ डीओएचसी, चेन ड्राइभ इन्जिनले अधिकतम ३००० देखि ३४०० आरपीएममा २०५ पीएस पावर प्रदान गर्छ । अधिकतम १६०० देखि २८०० आरपीएममा ५०० न्युटन मिटर टर्क प्रदान गर्छ । यसको दुवै भेरियन्टमा ८ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।
अफरोडको लागि उत्कृष्ट
एलसी २५० को डिजाइन नै टोयोटाले बक्सी बनाएको छ । ठूला ओआरभीएम, अगाडिको मस्कुलरसँगै रेट्रो लुक्समा तयार भएको फ्रन्ट फेसियाबाटै जस्तोसुकै बाटोको लागि उपयुक्त रहेको भान हुन्छ ।

त्यसमा फोर ह्वील ड्राइभ सिस्टम, सेन्टर र रियर लकिङ डिफरेन्सियल, मल्टी टेरेन सेलेक्टर, २२१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र क्रल कन्ट्रोल मोड जस्ता कुराले यसलाई अफरोडको राजा बनाएको छ ।
यसलाई सहरी बाटोमा चलाउन पनि उत्तिकै राम्रो छ । यसअघिका ल्याण्ड क्रुजुर २५० भन्दा हलुका, सुधारिएको सस्पेन्सन, पावर स्टेयरिङ र टोयोटा सेफ्टी सेन्स ३.० प्रयोग भएको कारण कुनै किसिमको बाटोमा पनि यसलाई चलाउन सकिन्छ ।
जापानी कार निर्माता टोयोटाले विगत दुई वर्षदेखि नेपालमा बिक्री गर्दै आएको ल्याण्ड क्रुजर एलसी २५० निकै सफल मोडल हो । मूल्यको हिसाबले महँगो भए पनि आवश्यकताको हिसाबले यसलाई किन्ने मानिस निरन्तर बढ्दै गएका छन् ।
धेरैले रोज्नुको पछाडि भेट्टिने कारण
‘एक पटक किन्ने, वर्षौं चलाउने’ गाडीको रूपमा हेरिने टोयोटा ल्याण्ड क्रुजर विश्वभर नै उच्च रिसेल भ्यालुको लागि परिचित मोडल हो । नेपालमा त्यसको प्रभाव पर्ने नै भयो ।
नेपालको कठिन बाटोहरूमा संचालन हुने प्रोजेक्टहरू पुग्न कठिन हुन सक्छ । नयाँ खनिएका बाटाहरू प्रयोग गर्नु पर्ने मानिसले पनि यसलाई रोज्ने गरेको पाउँछौं ।
टोयोटाको आइकोनिक नेम प्लेटमा रहेको एलसी २५० नेपाल बाहिर अस्ट्रेलिया, मध्यपूर्व, अफ्रिका जस्ता देशहरूको कठिन भूभागमा गाडी चलाउनेहरूको रोजाइमा पर्दै आएको मोडल हो ।
माइल्ड हाइब्रिड टेक्नोलोजीमा उपलब्ध एलसी २५० ठूलो गाडी भएर पनि राम्रै माइलेज दिने गाडीको रूपमा लिइन्छ ।

