काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक टाटाले फ्लेक्स फ्युल (इथानोल र पेट्रोल दुवैबाट) चल्ने कार ल्याउने भएको छ । कम्पनीले सन् २०२७ को सुरुआतसम्म फ्लेक्स फ्युलबाट चल्ने कार बजामा ल्याउने भएको हो ।
टाटाले इलेक्ट्रीक र सीएनजीभन्दा अगाडि बढेर आफ्नो क्लिन इनर्जी पावरट्रेन विकल्प विस्तार गर्दै फ्लेक्स फ्युलको विकल्प भित्र्याउने योजना बनाइरहेको छ । कम्पनीले सुरूमा आम उपभोक्ताले सहजै किन्न सक्ने इन्ट्री लेभल मोडलमा यो प्रविधि भित्र्याउने योजना बनाएको हाे ।
मे १४ मा भएको टाटा मोटर्स प्यासेन्जर भेहिकल्सको चौथो त्रैमासिक वित्तीय विवरण सम्बन्धी कन्फरेन्स कलमा प्रबन्ध निर्देशक तथा सीईओ शैलेश चन्द्रले कम्पनी फ्लेक्स फ्युल प्रविधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउने अन्तिम चरणमा रहेको खुलासा गरे । ‘प्रविधिको तयारीका हिसाबले हामी निकै सहज अवस्थामा छौँ,’ उनले भने ।
चन्द्रले टाटा मोटर्स २०२६ को अन्त्य वा २०२७ को सुरूवातमै आफ्नो पहिलो फ्लेक्स फ्युल कारका साथ तयार हुनुपर्ने बताए । उनले फ्लेक्स फ्युल इन्जिन पाउने पहिलो मोडल कुन हुनेछ भन्ने कुरा त खुलाएनन्, तर यसअघिका गतिविधिहरूले ‘पन्च’ तर्फ संकेत गर्छन् । पन्च अहिले नै पेट्रोल, सीएनजी र इलेक्ट्रीक भेरियन्टमा उपलब्ध छ ।

अटो एक्सपो २०२५ मा प्रदर्शन गरिएको टाटा पन्च फ्लेक्स फ्युलमा १.२ लिटरको नेचुरली एस्पिरेटेड थ्री सिलिण्डर इन्जिन रहेको थियो । जुन ई २० देखि ई ८५ सम्मको इथानोल इन्धन मिश्रणका लागि उपयुक्त छ ।
टाटा मोटर्सले फ्लेक्स फ्युल प्रोटोटाइपमा इन्धन इन्जेक्सन प्रणाली र ईसीयूमा परिमार्जन गरेको छ । एग्जस्ट आफ्ट ट्रिटमेन्ट सिस्टम थपेको छ । यसमा इथानोलको प्रतिशत पहिचान गरी सोही अनुसार काम गर्ने सफ्टवेयरमा आधारित प्रविधि समावेश गरेको छ।
गत अप्रिल २७ मा भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयले ई ८५ र ई१०० इथानोल इन्धन मिश्रणलाई समेट्ने गरी केन्द्रीय मोटर वाहन नियमावली, १९८९ मा संशोधनको प्रस्ताव गर्दै एउटा मस्यौदा जारी गरेको छ। मन्त्रालयले यसबारे सर्वसाधारणबाट सुझाव र सल्लाह मागिरहेको छ । तर यो कदम कहिलेदेखि लागू हुन्छ भन्ने निर्णय सार्वजनिक गर्न बाँकी छ ।
टाटा मोटर्सका अतिरिक्त मारुती सुजुकी र टोयोटा किर्लोस्कर मोटरले पनि फ्लेक्स फ्युल कारहरू बजारमा ल्याउन चासो देखाएका छन् । वर्तमान ऊर्जा संकट र डलरको तुलनामा भारुको घट्दो मूल्यका कारण उच्च मिश्रणयुक्त इथानोल इन्धनको व्यावसायिक उपलब्धतालाई तीव्रता दिन सकिन्छ । जसले गर्दा यी कम्पनीहरूलाई आफ्ना फ्लेक्स फ्युल कारहरू चाँडै बजारमा ल्याउन प्रोत्साहन मिल्नेछ ।


