काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले विद्युतीय सवारी (ईभी)को मोटर क्षमता सम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड बनाउन सरकारसँग आग्रह गरेको छ ।
हाल नेपालमा ईभीको मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छैन । यही अस्पष्टताले विभिन्न तहमा भ्रम, अन्योलता र फरकफरक व्याख्या भइरहेकाले नाइमाले स्पष्ट, व्यवहारिक र एउटै मापदण्ड बनाउन आग्रह गरेको हो ।
नाइमाले ईभीको मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममा भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नाइमाले यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूसँग भएको छलफलका क्रममा समेत ईभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कनसम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरुप व्यवस्था आवश्यक रहेको धारणा राख्दै आएको थियो ।
नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएको नाइमाले जनाएको छ ।
‘विश्व ओटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकता अनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास हो । त्यसैले केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकालिनु प्राविधिक रूपमा विश्वनीय आधार मान्न सकिँदैन,’ नाइमाले भनेको छ ।
ईभी सवारी साधनको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गर्न नाइमाले माग गरेको छ । साथै, सम्बन्धित सरकारी निकायहरूबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गरिनु आवश्यक रहेको नाइमाको भनाइ छ ।
ईभी नेपालको स्वच्छ उर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्दधन गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गइरहेको छ । ईभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ उर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने, समग्र उर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याइरहेकाले यस क्षेत्रसँग सम्बन्धित विषयहरूलाई तथ्य, प्राविधिक अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै मूल्याङ्कन गरिनु पर्ने नाइमाको भनाइ छ ।
विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरूलाई प्रयाप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै विश्लेषण गरिनु आवश्यक रहेको नाइमाको धारणा छ ।
अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सृजना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने देखिएको नाइमको भनाइ छ ।


