काठमाडौं । चिनियाँ बजारमा निकै सफल मानिएका दुई ह्याचब्याक कार नेपाल आउने भएका छन् । चीनमा पहिलो पटक सफलताको स्वाद चाखिरहेको एमजी फोर अर्बान र आरफक्स टी वान नेपाल आउन लागेका हुन् ।
आरफक्स ब्राण्ड नेपालको लागि पूर्णतः नयाँ हो । लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनीले नेपाल ल्याउने आरफक्स टी वान चीनमा सफल मोडलमा पर्छ । बीएआइसी ग्रुप अन्तर्गतको आरफक्स ब्राण्डको विद्युतीय ह्याचब्याक कार सम्भवतः असार महिना भित्रै नेपालमा बिक्री सुरू हुनेछ ।
एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि भर्खरै एमजी एस सिक्स मोडल सार्वजनिक गरेको छ । त्यसैले एमजी फोर अर्बान सम्भवतः आगामी सेप्टेम्बरमा आयोजना हुने अटो शोमा सार्वजनिक गर्नेछ ।
नेपाली बजारमा आउन लागेका यी दुवै ह्याचब्याक कारको लम्बाइ ४.३ मिटर रहेको छ । त्यसैले यी दुवै कार प्रिमियम ह्याचब्याक सेग्मेन्टमा आउन लागेका हुन् ।

एमजीले अर्बान ह्याचब्याकलाई फ्रन्ट ह्वील डाइभमा तयार पारेको छ । कम्पनीले यसअघि ल्याएको एमजी फोर, एस फाइभ र एस सिक्स मोडल रियर ह्वील डइभ सिस्टममा थिए । आरफक्स टी वान पनि फ्रन्ट ह्वील डइभ मोटरमा छ ।
एमजी फोर अर्बान १०० किलोवाटको मोटरमा आउने छ । सम्भवतः आरफक्स टी वान ९५ किलोवाटको मोटरमा उपलब्ध हुनेछ । पावरको मामलामा पनि यी दुई मोडल बीच कडै प्रतिस्पर्धा हुने देखियो ।
अहिलेसम्म नेपाल आउने दुवै मोडलको ब्याट्री साइजको विषयमा आधिकारिक बिक्रेताहरूले कुनै जानकारी दिएका छैनन् । तर, दुवै मोडल ३०० किलोमिटर माथिको रेन्ज दिनेगरी उपलब्ध हुनेछन् । चीनमा मल्टिपल ब्याट्री छनोट गर्न पाइन्छ । त्यसमध्ये कुनै एक ब्याट्री अप्सनमा यी दुवै मोडल आउने छन् ।

प्रयोगकर्तालाई गाडीको साइज र डिजाइनपछि सर्वाधिक चासो मूल्यमा हुने गर्छ । यी दुई गाडीको मूल्य पनि लगभग उस्तै रहने अनुमान गर्न सकिन्छ । सम्भवतः ३७ लाखदेखि ४५ लाख भित्र बिक्री गर्ने गरी यी दुई मोडल नेपाली बजारमा प्रवेश गर्नेछन् ।
बीवाइडीले सर्वाधिक बिक्री गरेको ह्याचब्याक कार डल्फिनकै सेग्मेन्टमा आउने यी कारले कस्तो व्यापार पाउँछन् । त्यो थाहा पाउन भने केही महिना कुर्नैपर्ने हुन्छ ।


