प्रडक्ट कम्प्यारिजन: टाटा एनआरजी vs फोर्ड फ्रिस्टाइल ट्रेन्ड, कुन किन्दा बेष्ट

काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा नयाँ कार टाटा एनआरजी सार्वजनिक गरेको छ । नयाँ फिचर र डिजाइनसहित आएको यो कारलाई सिप्रदी ट्रेडिङ्ग इन्टरप्राइजेले यङ्गेस्ट सीयूभी भनेर ब्रान्डिङ्ग गरेको छ । यसको नाम अंग्रेजी शब्द इनर्जीबाट डिराइभ भएर एनआरजी राखिएकोले यो कार फूल इनर्जी तथा यसको बडी–बिल्ड पनि आर्मोड मटेरियलको रहेकोले ठूलो इम्प्याकको इनर्जीलाई अब्जर्भ गर्न सक्ने कम्पनीले जनाएको छ । 

हिजो मंगलवारमात्रै नेपाली बजारमा सार्वजनिक भएको एनआरजीको सबैभन्दा नजिकको प्रतिस्पर्धा नेपाली बजारमा फोर्डको फ्रिस्टाईलसँग हुने छ । 

हामीले यहाँ टाटाको एनआरजीको कम्पेरिजन फोर्डको फ्रिस्टाइल ट्रेन्ड भेरियन्टसँग गरेका छौँ । टाटाको एनआरजीको मूल्य २९ लाख ५५ हजार रहेको छ भने फोर्डको फ्रिस्टाइल टे«डको मूल्य २९ लाख ९९ रहेको छ । यी दुबै कारमा १.२ लिटर ३ सिलिन्डर इन्जिन तथा फाइभ–स्पीड गियर बक्सको प्रयोग गरिएको छ । 

एनआरजीमा रहेको ११९९ सीसीको इन्जिनले ६००० आरपीएममा ८५ बीएचपी पावर तथा ३५०० आरपीएममा ११४ एनएम–टर्क उत्पादन गर्छ । त्यस्तै, फ्रिस्टाइलमा रहेको ११९४ सीसीको इन्जिनले ६५०० आरपीएममा ९५ बीएचपी पावर तथा ४२५० आरपीएममा १२० एनएम–टर्क उत्पादन गर्छ । पावर र टर्कको तुलना गर्दा फोर्ड फ्रिस्टाइल अगाडि देखिएको छ । 

कम्पनीले दावी गरेअनुसार टाटा एनआरजीले प्रतिलिटर २३.८ किलोमिटर माइलेज दिन्छ, जसमा ३५ लिटरको पेट्रोल ट्याक छ । फोर्डको फ्रिस्टाइलले प्रतिलिटर १९ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । साथै, यसमा ४२ लिटरको पेट्रोल ट्यांक रहेको छ । माइलेजको तुलना गर्ने हो भने टाटा एनआरजीले फोर्डको फ्रिस्टाइललाई पछाडि पारेको छ । 

पेट्रोल ट्यांकको क्यापासिटी भने फ्रिस्टाइलको धेरै रहेको छ । फ्रिस्टाइलमा ठूलोे पेट्रोल ट्यांक रहे तापनि कम माइलेजका कारण रि–फिलिङ्गका लागि एनआरजीभन्दा पहिला पेट्रोल पम्प धाउनु पर्ने हुन्छ । 

टाटा एनआरजीको लम्बाई ३७९३ एमएम चौडाई १६६५ एमएम तथा उचाई १५८७ एमएम रहेको छ भने फोर्ड फ्रिस्टाइलको लम्बाई ३९५४ एमएम चौडाई १७३७ तथा उचाई १५७० एमएम रहेको छ । 

टाटा एनआरजीको ग्राउण्ड क्लियरेन्स १८० एमएम तथा बूट स्पेश २४२ लिटरको रहेको छ भने फोर्ड फ्रिस्टाइलको ग्राउण्ड क्लियरेन्स १९० एमएम तथा बूट स्पेस २५७ लिटरको रहेको छ । बाहिरी आवरण हेर्दा उस्तै देखिए पनि फोर्डको फ्रिस्टाइल केही ठूलो रहेको छ ।

गाडीमा उपलब्ध फिचरहरूको तुलना गर्दा एनआरजी धेरै अगाडि रहेको छ । एनआरजीमा प्रयोग भएको रेभोट्रन इन्जिनमा ईको र सिटी दुईवटा ड्राइभिङ्गमोड रहेको छ भने फ्रिस्टाइलमा ड्राइभिङ्गमोडको सुविधा छैन । 

क्याविनको तुलना गर्दा एनआरजीको स्टेरिङ्गमा भोलूम कन्ट्रोल सिस्टमकासाथै भ्वाइस कमाण्ड कन्ट्रोलको पनि रहेको छ । फ्रिस्टाइलमा भने भोलुम कन्ट्रोलमात्र रहेको छ । एनआरजीको ड्यासबोर्डमा ५ इन्चको हर्मन म्यूजिक पावर्ड टचस्क्रिन रहेको छ भने फ्रिस्टाइलमा ६.५ इन्चको सामान्य टचस्क्रिन रहेको छ । 

त्यस्तै, म्यूजिक लभरहरूका लागि एनआरजीमा ८ वटा स्पीकर रहेको छ भने फ्रिस्टाइलमा ४ वटामात्र स्पीकर रहेको छ । 

टाटा एनआरजीमा कुल्ड ग्लोवबक्स रहेको छ भने फ्रिस्टाइलमा नर्मल ग्लोवबक्समात्र रहेको छ । एनआरजीमा रियर विन्डो डिफोस्टर विथ वाइपर रहेको छ भने फ्रिस्टाइल ट्रेन्डमा यो सुविधा रहेको छैन । 

एनआरजीलाई आकर्षक बनाउनका लागि टेलगेट तथा दुबै साइडमा मस्कुलर क्लाइडिङ्ग राखिएको छ भने फ्रिस्टाइलमा कुनै क्लाइडिङ्ग नराखी सादा बडी–कलरमात्र रहेको छ । तर, दुबै गाडीमा अगाडि र पछाडि बम्परमा सिल्भर–कलरको  स्कीड–प्लेट भने राखिएको छ । 

एनआरजीको रुफको रङ्ग–कालोे रहेको छ भने फ्रिस्टाइलको रुफ बडी–कलरको रहेको छ, साथै रुफ–रेल भने दुबै कारमा रहेको छ । 

दुबै कारमा सेफ्टी फिचरको रुपमा ड्यूल फ्रन्ट एयरव्याग, रिभर्स पार्किङ्ग असिस्ट, ड्राइभर–सिट रिमाइन्डर, ईबीडीसहितको एबीएस रहेको छ भने एनआरजीमा इलेक्ट्रोनिक स्ट्याबिलीटी प्रोगाम थप रहेको छ । फलोमी हेडल्यापको फिचर पनि एनआरजीमा मात्र उपलब्ध रहेको छ । 

निष्कर्ष 

टाटा एनआरजी फिचर प्याक कार हो, साथै माइलेज पनि उत्कृष्ट रहेको छ । त्यस्तै, फ्रिस्टाइलको साइजमा केही ठूलो तथा पावरफूल इन्जिन रहेको छ । त्यसैले हाम्रो मूल्याङ्कनमा बडी–फिचरयुक्त तथा बडी–माइलेज दिने सीयूभी चाहनुहुन्छ भने टाटाको एनआरजी उपर्युक्त हुन्छ भने बडी–स्पेस तथा पावरफूल सीयूभी चाहनुहुन्छ भने फोर्डको फ्रिस्टाइल उपर्युक्त हुनेछ ।


Back_to_top